Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


नारायणगढ–मुग्लिन सडक बुधबार र बिहीबार पनि दिउँसो बन्द


0
Shares

भरतपुर, पुस २३ । नारायणगढ–मुग्लिन सडकखन्डको पहिरो रोकथामको काम नसकिएपछि आज (बुधबार) र भोलि दिउँसोे पनि सडक बन्द हुने भएको छ ।

सडक आयोजनाले मंगलबार सूचना जारी गर्दै ढुंगा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ ।

गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी काम हुँदै आइरहेको छ ।

सो कार्य नसकिएको हुँदा बिहीबार दिउँसो पनि सोही समयमा सडकखन्डमा सवारी–साधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

दुई हप्ताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भएपनि काम नसकिएपछि दोस्रोपटक समयावधि थप गरिएको उनले बताए ।

सो अवधिमा अत्यावश्यक सवारी–साधनलाई प्रवेश दिइनेछ । सडकखन्डको ८ ठाउँमा पहिरो रोकथामको काम भइरहेको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रीवाहक सवारी–साधन १५ किलो र मालवाहक सवारी–साधन दासढुंगामा रोकिनेछन् ।

यस्तै, मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रीवाहक सवारी–साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी–साधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ । रासस