काठमाडौं, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।
बिहीबार कांग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो । कांग्रेसले बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिएको सम्बन्धमा पार्टीले थप गम्भीररूपमा लिएको जनाएको छ ।
संसदीय दलको बैठकमा संविधानका मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल हुने उनले जानकारी दिए ।
प्रमुख सचेतक खाँणले भने, ‘सरकारले छिटोभन्दा छिटो मौलिक हकसम्बन्धी विधेयक सदनमा प्रस्तुत गरोस् भन्ने हामी चाहन्छौं, जनतालाई मौलिक अधिकार दिलाउन उक्त विधेयक संसदबाट शीघ्र पारित गर्नुपर्छ भन्नेमा कांग्रेसको ध्यान गएको छ ।’
बैठकमा संसदीय समिति गठनका सम्बन्धमा समेत छलफल हुने बताइएको छ । प्रतिनिधिसभाका १० विभिन्न विषयगत समितिमा रहने सांसदको नाम संसद्को बिहीबारको बैठकले अनुमोदन गरेको थियो । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । (रासस)









प्रतिक्रिया दिनुहोस्