– डम्मर बुढा मगर /इमेज
बाग्लुङ, पुस १८ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरी विभिन्न कार्यक्रमहरु अघि बढाइरहेको छ । यस्तोमा बाग्लुङको रिगा ताल पनि एक उतम गन्तव्यको रुपमा देखिएको छ ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० सफल पार्न अहिले स्थानीय तहसमेत सकृय रुपमा लागेका छन् । सरकारले घोषणा गरेको १ सय गन्तव्यमा नपरेका प्राकृतिक एवं धार्मिक सम्पदाहरुको पहिचानमा स्थानीय आँफै जुटेका हुन् ।
यस्तोमा संभावना भएको तर ओझेलमा परेको बागलुङको रिगा ताल पनि देखिएको छ । बागलुङका पर्यटकीय क्षेत्रहरुको विकाससँगै अहिले आन्तरिक पर्यटकहरु समेत बढ्दै गएका छन् ।
मध्य पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ मा रहेको रिगा ताल पर्यटकको आकर्षक गन्तव्य बन्न थालेको छ । रिगा गाउँपालिकाले प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न थालेसँगै पर्यटकहरुको आवागमनमा वृद्धि हुन थालेको हो ।

यो समयमा हिउँ खेल्न जानेहरुको समेत घुइँचो बढेको छ । भेँडी गोठालेहरुले खानेपानी लागि प्रयोग गर्दै आएको उक्त ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको थियो ।
दुई वर्षदेखि निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई तीव्रता दिन थालेसँगै अहिले ताल मात्र नभइ उक्त क्षेत्रको मुहारनै फेरिन थालेको छ ।
प्राकृतिक सुन्दरता र मनोरम दृश्य भएकाले ताल क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न गाउँपालिकाले गुरुयोजना नै बनाएर पूर्वाधार निर्माण गर्न थालेको छ ।
तालको प्रवद्र्धन गर्नका लागि यस वर्ष गाउँपालिकाले केही बजेट समेत विनियोजन गरेको छ । यहाँ पदमार्ग, बगैचा बनाउनेलागयतका पूर्वाधार निर्माण गर्ने निसीखोला गाउँपालिकाका प्रमुख तारानाथ पौडेलले बताए ।

यो क्षेत्र आन्तरिक पर्यटकको लागि मात्र नभई बाह्य पर्यटकहरुको लागि समेत गन्तव्य स्थल बन्न सक्ने पर्यटकनै बताउँछन् ।
ताल अत्यन्तै रमरणिय स्थलमा रहेको हुँदा बाह्य पर्यटक भित्राउन खास्सै समस्या नपर्ने धौलागिरी पर्यटन पवद्र्धन समितिका अध्यक्ष खिमानन्द कँडेलको भनाइ छ ।
समुन्द्री सतहदेखि करिब ३ हजार २ सय मिटर उचाईमा रहेको यो तालको लम्बाई १ सय मिटर, चौडाई ६० र गहिराई करिब १२ मिटर रहेको छ ।

जहाँबाट रोल्पा, रुकुम, प्युठान, पर्वत र बागलुङका विभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ । यहाँ आउने जोहोकोही सेताम्मे हिमश्रृङ्खला र शान्त वातावरणसँगै चराचुरुङ्गीको सुमधुर आवाजले मोहित हुने गर्छन् ।
यस तालको विकासको लागि पर्यटन विकास बोर्ड, प्रदेश र केन्द्र सरकारको नजर पुग्न सके साँच्चिकै सरकारको भ्रमण वर्ष २०२० सफल हुनेमा दुई मत छैन ।







प्रतिक्रिया दिनुहोस्