Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना


0
Shares

काठमाडौं, साउन १७ । सरकारले आगामी पाँच वर्षभित्र कुल गार्हस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने योजना सार्वजनिक गरेको छ ।

त्यसका लागि पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सरकारको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सातओटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको उपस्थितिमा ‘पर्यटन क्षेत्रको विकासको पाँच वर्षीय कार्यदिशा’ सार्वजनिक गरेको हो ।

कार्यदिशामा पर्यटन क्षेत्रको नीतिगत, पूर्वाधार विस्तारलगायत विषयलाई समेटिएको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पर्यटकको संख्या बढाउन पर्यटकीय पूर्वाधारकारुपमा रहेका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल छिटो सम्पन्न गरिने बताए ।

नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा पनि जोड दिइने उनले बताए ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षको अवधिमा २५ लाख पर्यटक भित्र्याउन कम्तीमा एक लाख होटल बेड पुर्‍याउनुपर्ने भन्दै लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारको पूर्णसहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पर्यटन क्षेत्रलाई उद्योगकारुपमा विकास गर्न तीनओटै तहका सरकार एक हुनुपर्ने बताए ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पाँच वर्षभित्र अन्तर्राष्ट्रिय उडानका लागि वाइडबडी र न्यारोबडी गरी १० ओटा विमान तथा आन्तरिक उडानका लागि १५ विमान पुर्‍याउने लक्ष्य पनि कार्ययोजनामा राखिएको छ ।