Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


उखु किसानको समस्या माघ पहिलो साताभित्र समाधान हुन्छ : मन्त्री भट्ट


0
Shares

काठमाडौं, पुस १७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आउँदो माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा समय लिइ उनले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताए ।

चिनी मिल र उखु किसानका समस्या सम्बोधन गर्न कार्यदल गठन गरिसकिएको पनि उनले उल्लेख गरे ।

कार्यदलले १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने मन्त्री भट्टले जानकारी गराए ।

उनले चिनी उद्योगी र उखु किसानका प्रतिनिधिहरुसँग छलफल गरी चिनी उद्योगले किसानलाई दिनुपर्ने रकम तत्काल भुक्तानी गर्न निर्देशन दिइएको पनि बैठकमा जानकारी दिए ।

उखु किसानका ११ बुँदे मागमा सरकार गम्भीर रहेको र समग्रमा उखु खरिद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टले प्रस्ट पारे ।

उनले लुम्बिनी र वीरगन्ज चिनी कारखानालाई कसरी सन्चालन गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि जानकारी दिए ।

मन्त्री भट्टले विदेशबाट चिनी आयात गर्दा ४० प्रतिशत भन्सार बढाएको र चिनी ल्याउन प्रतिबन्ध लगाइएको पनि जानकारी दिए ।

बैठकमा सांसदहरु रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, प्रकाश पन्थ, रामपृत पासवास, डा. विमला राई पौडेलले वर्षैपिच्छे उखु किसान र चिनी मिलको समस्या दोहोरिने गरेको भन्दै दीर्घकालीन समाधान खोज्न सुझाव दिएका थिए ।