काठमाडौं, पुस १७ । आन्दोलनरत् उखु किसानहरुले सरकार र उद्योगीहरुले रकम भुक्तानीको लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
एक हप्तादेखि काठमाडौंमा आन्दोलनरत् किसानले सरकारले भुक्तानीका लागि लिखित पत्र नदिएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।
संघर्षरत् उखु किसानले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटी ज्ञापनपत्र बुझाएका थिए ।
२०७० सालदेखि हालसम्मको भुक्तानीका साथै उनीहरुले नेपाल सरकारबाट पाउनुपर्ने अनुदान रकम उपलब्ध गराउन, उखु तौल गरिएको १५ दिनभित्रै सम्पूर्ण भुक्तानी पाउनुपर्ने व्यवस्था गरिनुपर्नेलगायतका ११ बुँदे मागपत्र बुझाएका थिए ।
अब किसानका यी माग कार्यान्वयन नभएसम्म राजधानी आएर थालेको आन्दोलन नरोकिने उनीहरुको अडान छ ।
सर्लाहीका २५ देखि ३० हजारभन्दा बढी किसानले झन्डै ६ वर्षदेखि बेचेको उखुको रकम उद्योगीले भुक्तानी नदिएको उनीहरुको गुनासो छ ।
पटक–पटक सहमति गरे पनि रकम नपाएपछि आजित भएर उनीहरु रकम माग गर्दै काठमाडौं आएका हुन् ।
उनीहरुले ०७० सालदेखि सरकारबाट पाउनुपर्ने अनुदान रकमसमेत नपाएको गुनासो गरेका छन् ।
उनीहरुले राज्यबाट नै हालसम्म एक अर्ब ४० करोड बढी रकम लिन बाँकी रहेको जनाएका छन् ।
यस्तै, अन्नपूर्ण र महालक्ष्मी सुगर मिलबाटमात्र ७० करोड बढी लिन बाँकी रहेको र अन्य थुप्रै मिलबाट रकम लिन बाँकी रहेको उखु किसान मायाशंकप्रसाद यादव बताउँछन् ।
कतिपय किसानहरुले समयमै भुक्तानी नपाएकै कारण उखु लगाउने गरेकोभन्दा धेरै कम क्षेत्रफलमा मात्रै उखु लगाउन बाध्य भएको पनि उनीहरुले बताएका छन् ।
सर्लाहीकै अर्का किसान अमरेन्द्र यादव माग पूरा भइ लिखित जवाफ नआउन्जेलसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताउँछन् ।
यादवले सुगर मिलबाट १४ लाख बढी रकम लिन बाँकी रहेको जनाएका छन् ।
लामो समयदेखि ऋण गरेर लगाएको उखुको भुक्तानी अहिलेसम्म पाउन नसक्दा दैनिक जीविकोपार्जन गर्नसमेत मुस्किल परेको उनीहरुको दुखेको छ ।
किसानले मिलबाट समयमा भुक्तानी नपाउने यो अहिलेमात्र होइन, हरेक वर्ष दोहोरिरहने समस्या हो । त्यसमाथि सरकारबाट पाउनुपर्ने अनुदानको रकमसमेत नपाउँदा आफूहरुले आत्मविश्वास नै गुमाउन पुगेको उनीहरुको गुनासो छ ।





प्रतिक्रिया दिनुहोस्