काठमाडौं, साउन १७ । बिम्सटेकलाई सार्कजस्तो गतिहीन बनाउन नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
आगामी महिना काठमाडौंमा हुन लागेको चौथो बिम्सटेक सम्मेलनमा प्रस्तुत् गरिने एजेन्डाका विषयमा छलफल गर्न बिहीबारदेखि काठमाडौंमा सुरु दुईदिने परामर्श बैठकमा सहभागी सदस्य राष्ट्रका प्रतिनिधिहरुले बिम्सटेकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।
बैठकको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिम्सटेक सदस्य मुलुकबीच व्यापार प्रवद्र्धनमा जोड दिँदै सुरक्षा र आतंकवादविरुद्ध एक हुनुपर्ने बताए ।
पर्यटन, व्यापारले सदस्य मुलुकबीचको सम्बन्धलाई बलियो बनाउने भन्दै उनले ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताए ।
बिम्सटेक सम्मेलनकाक्रममा ऊर्जा क्षेत्रका विषयमा सदस्य मुलुकबीच सम्झौता हुनसक्ने उनले जानकारी गराए ।
नेपालका लागि बंगलादेशकी राजदूत मस्फी बिन्ते साम्सले बिम्सटेकले अपेक्षा गरेअनुसार उद्देश्य हासिल गर्न नसकेको भन्दै प्रभावकारी बनाउन सदस्य मुलुक लाग्नुपर्ने बताइन् ।
यस्तै, नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरी, नेपालका लागि श्रीलंकाका राजदूत स्वर्णलता पेरेरा, श्रीलंकाका लागि नेपाली राजदूत डा. विश्वाम्भर प्याकुर्याल, रिसर्च एन्ड इन्भरमेसन सिस्टम भारतका महानिर्देशक सचिन चक्रवेधीलगायतले बिम्सटेकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
बैठक व्यापार तथा लगानी, पर्यटन, कृषि र सन्जालका विषयमा केन्द्रित हुने जनाइएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) सन् १९९७ जुन ६ मा स्थापना भएको थियो ।









प्रतिक्रिया दिनुहोस्