
एजेन्सी । हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अँगालोको न्यानोपना महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरुले यस वर्षको चिकित्सा विज्ञानको नोबेल पुरस्कार जितेका छन् ।
अमेरिकी डेभिड जुलियस र आर्डेम पाटापौटियनले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा शरीरले गरेको कार्यका लागि सन् २०२१ को लागि नोबेल पुरस्कार जितेका हुन् ।
उनीहरूले हाम्रो शरीरले कसरी शारीरिक स्पर्श स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारे अध्ययन गरेका हुन् । यो खोज दुखाइ निदान गर्ने उपचारका लागि महत्त्वपूर्ण हुने बताइएको छ । नोबेल पुरस्कार कमिटीका थोमस पर्लम्यानले यो अत्यन्तै महत्वपूर्ण र गहिरो खोज भएको बताएका छन् ।
क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले हामीले पिरो खुर्सानी खाँदा किन पोलेको महसुस गर्छौँ भन्ने विषयमा अध्ययन गरेका थिए । यो खोजपछि तापक्रमसँग प्रतिक्रिया गर्ने अन्य कोषका अंशहरूको खोजी भयो । जुलियस र प्राध्यापक पाटापौटियनले चिसो हुँदा सक्रिय हुने अंश पनि पत्ता लगाए ।
त्यस्तै पाटापौटियनले अर्को अध्ययन पनि गरिरहेका थिए । उनको अध्ययनले फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लगाए । पुरस्कृत जोडीले एक करोड स्वीडीश क्रोनर प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्