
प्रज्ञा तिमल्सिना र विनोद बजगाइँ (इमेज)
काठमाडौं, पुस १० । पछिल्लो समय सडक दुर्घटना वा अरु कारणले हात–खुट्टा गुमाउनेको संख्या बढेको छ ।
त्यस्ता व्यक्तिले कृत्रिम हात–खुट्टाको प्रयोग गरेर आफ्नो बाँकी जीवन केही सहज बनाउन सक्छन् ।
तर, यस्ता साधन बनाउन सरकारले पर्याप्त सहयोग नगरेको सरोकारवालाहरुको गुनासो छ ।
दोलखाका २६ वर्षीय विजय श्रेष्ठ गत मंसिर २५ गते सधैंझैं काम समाएर घर फर्किएका थिए । डोजर चलाउने काम गर्ने उनलाई साथीहरुले राति घुम्न जान आग्रह गरेपछि उनी साथीहरुसँगै बाहिर निस्किए ।
सडकमा हिँडिरहेका बेला सन्तुलन मिलाउने काम भइरहेको डोजर अचानक उनीहरुमाथि खस्न पुग्यो ।
घटनामा विजयले एकजना साथी गुमाए भने उनको एउटा खुट्टा चुँडिएर त्यहीँ खस्यो । अरु दुई सामान्य घाइते भए ।
उक्त घटनाले विजयको जीवन नै बदलदियो । काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराइरहेका विजयलाई आफ्नो स्वास्थ्यको चिन्ता त छँदैछ, अब आमा–बुवा र तीन बहिनीलाई कसरी पाल्ने भन्ने चिन्ताले पनि पिरोलेको छ ।
कोहलपुरकी १२ वर्षीया प्रकृति चन्दले गत मंसिर २२ गते ट्रकको ठक्करबाट दुवै खुट्टा गुमाउन पुगिन् ।
मोटरसाइकल दुर्घटनामा खुट्टा गुमाएका गुल्मीका २४ वर्षीय अमेन विकेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यी त केही प्रतिनिधि पात्रमात्र हुन् । सवारी दुर्घटनामा हात–खुट्टा गुमाउनेहरुको संख्या धेरै छ ।
हाड्जोर्नी रोग विशेषज्ञ डा. सन्तोष पोखरेलले सवारी दुर्घटनापछि समयमै अस्पताल नपुग्दा पनि धेरैको ‘इन्फेक्सन’का कारण खुट्टा गुमेको बताए ।
ट्रमा सेन्टरमा नै अहिले महिनाको तीन/चारजना यस्ता बिरामी आउने गरेको उनले जानकारी दिए ।
दुर्घटनाका कारणमात्र नभइ मधुमेह, उच्च रक्तचाप र हड्डीको क्यान्सरका कारण पनि धेरैले खुट्टा गुमाउनुपरेको चिकित्सकहरुको भनाइ छ ।
२०३९ सालमा स्थापना भएको राष्ट्रिय अपांग कोषले विदेशबाट कच्चापदार्थ ल्याइ कृत्रिम हात–खुट्टा बनाउँदै आएको छ । यस्तो काममा अपांगता भएका व्यक्तिहरु नै लागेका छन् ।
कोषले वार्षिक एक हजार व्यक्तिलाई निःशुल्करुपमा यस्ता साधन वितरण गर्दै आएको छ ।
रकम अभावका कारण समस्यामा परेका धेरैलाई यस्ता उपकरण दिन नसकेको कोषका सदस्यसचिव एमनाथ मैनालीले बताए ।
दुर्घटनालगायतका विभिन्न कारणले हात–खुट्टा गुमाउन पुगेकाहरुलाई कृत्रिम हात–खुट्टा जीवन जिउने बलियो आधार बनेको छ, धेरै हदसम्म भएपनि ।
प्रतिक्रिया दिनुहोस्