२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा


0
Shares

काठमाडौं । अमेरिकी सहयोग नियोग एमसीसीका उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । नेपालको चारदिने भ्रमणका लागि उहाँहरु आज बिहान कतार एयरवेजमार्फत काठमाडौं आइपुग्नुभएको हो ।

उच्चस्तरीय भ्रमणको लागि काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

नेपालमा एमसीसीको विरोध चर्किरहेका बेला अमेरिकी प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो । सुमारले नेपालले स्पष्टता खोजेका बुँदामा १५ पृष्ठ लामो जवाफ हिजो मात्रै पठाउनुभएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले भदौ १८ गते एमसीसीलाई पत्र लेखेर नेपालमा उत्पन्न चासोबारे प्रश्नहरू पठाउनुभएको थियो । चार वर्षअघि सम्झौता भएपनि संसदबाट अनुमोदन भएपछि मात्र सहयोग परिचालन हुने भएकाले काम अघि बढ्न सकेका छैन ।

सम्झौतामा ३१२ किमी उच्च क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिको लागि एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलर कोषमार्फत् खर्च गर्ने उल्लेख छ ।

एमसीसीले हिजो पठाएको पत्रमा सम्झौताभन्दा नेपालको संविधान स्वतः माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नहुने स्पष्ट पारेको छ । तर, भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि उसले गराएको छ । हिजो नैं पत्र अर्थ मन्त्रालय पुगेको छ ।