काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई सम्पन्न भएको ६ दिन पुगे पनि निर्णय भएको छैन ।
प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषयको टुंगो लगाउन संसदीय सुनुवाइ विशेष समितिको बैठक आज पनि बस्दै छ ।
यही विषय टुंगो लगाउन समितिका बैठक यसअघि चार पटक बसिसकेको छ ।
तर समितिका सदस्यहरुबीच गम्भीर मतभेद देखिएपछि बैठकले कुनै निर्णय गर्न सकेको छैन ।
सुनुवाइ समितिको बैठक लगातार सर्नुको कारण अनुमोदन नगर्ने उद्देश्यभन्दा पनि पर्याप्त छलफलका लागि भएको समितिको तर्क छ ।
तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले जोशीको शैक्षिक प्रमाणपत्र र कतिपय विवादास्पद फैसलाका कारण अनुमोदन गर्न नसकिने अडान लिएपछि लामो समय लागेको बताइएको छ ।
हाल सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश रहेका जोशीको एसएलसीको प्रमाणपत्रबारे शंका उब्जिएको छ ।
उनले गरेका फैसला र आदेशबारे संसदीय सुनुवाई समितिमा प्रश्न गर्दा समेत सन्तुष्ट हुने उपयुक्त जवाफ नआएको आरोप समितिका सदस्यहरुको छ ।
समितिको आज बस्ने बैठकले जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने टुंगो लगाउने बताइएको छ ।
जोशीको नाम अनुमोदन नहुँदा २००८ सालदेखि सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चल्दै आएको परम्परा तोडिनेछ ।
जोशीको नाम अनुमोदन नभए वरिष्ठतम् व्यक्ति प्रधानन्यायाधीश हुने ६७ वर्षको इतिहासमा नयाँ सुरुवात हुनेछ ।









प्रतिक्रिया दिनुहोस्