२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कर्णाली सत्तीघाट पुल जोखिममा


0
Shares

केशव कोइराला

बर्दिया । २०७२ असारमा निर्माणसम्पन्न भएको पुलको निर्माण कालिका/शर्मा रसुवा जेभी कन्ट्रक्सनले ठेक्का जिम्मा लिएको थियो । निर्माण कार्य सकिए लगत्तै पुल सञ्चालनमा आएपछि पानीको एकतर्फी वहाव बढेपछि पुलको पूर्वी भागतर्फको तटबन्ध भासिएको छ ।

पुल भासिँदै गएपछि ओहोरदोहोर गर्नसमेत समस्या देखिएको छ । विभिन्न समयमा सरोकारवाला निकायले अनुगमन गरेपनि एकस्पान थप गर्ने भनीएपनि काम सुरु नहुँदै पुल जोखिममा परेको हो ।

सत्तीघाट पुल कैलाली र बर्दिया जोड्ने माध्यमका रुपमा मात्र नभइ भारतीय बजार आउजाउ गर्ने मुख्य नाका समेत हो । पुल निमार्ण सुरु गरेदेखि नै एकस्पान थप गर्न माग गरेपनि सुनुवाई नहुँदा यो स्थिति आएको हो । पुल क्षतिग्रस्त भएसँगै मारमा परेको स्थानीय रमेश दहितको गुनासो छ ।

स्थायी समाधानका लागि हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा बारम्बार खबर गरिसकेको भएपनि त्यति चासो राखेको पाइँदैन । हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका प्रमुख गागलबहादुर भण्डारीले भने पुलको अवलोकन गरेर समाधान गरिने बताउनुभयो ।

सत्तीघाटपुलमा आएको समस्या बारे प्राविधिकको अवलोकन पछि मात्रै थाह हुने भन्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दिपेश थारुले बेलाबखत अनुगमनका लागि आउने टोलीले झुक्याएको भन्दै पुलको मर्मत गर्न आफू लागि पर्ने आश्वासन दिनुभयो ।

देशका अधिकांश पुलहरुको समस्या यस्तै हालतमा छ । कम रकमको बोलपत्रलाई ठेक्का सम्झौता दिने नेपालको खरिद सम्झौता नीतिका कारण यस्तो समस्या आएको स्थानीयले आरोप लगाएका छन् । निर्माण गरिने विभिन्न आयोजनाहरुमा गुणस्तरिय काम गर्नेलाई प्राथमिकता नदिए यस्ता समस्या पटक पटक दोहोरिन्छ । तराईकै दुर्गम मानिने बर्दिया केही सुगमता तिर गएको महसुस भएपनि बर्दियाको जब्दीघाट पुल भासिए जस्तै सत्तीघाट पनि यस्तै बन्न नसक्ला भन्न सकिँदैन । यसतर्फ सरोकारवालाहरुले बेलैमा ध्यान दिन जरुरी छ ।