Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


उपनिर्वाचन लघु जनमत संग्रह हो: नेता केसी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचनलाई लघु जनमत संग्रहका रुपमा लिनुपर्ने बताएका छन् ।

कांग्रेस पोखरा महानगरपालिका–९ वडा कमिटिले सोमबार साँझ गरेको भेलालाई सम्बोधन गर्दै नेता केसीले लोकतन्त्र र एकदलीय शासन मध्ये कुन रोज्ने भन्ने कुराको लघु जनमत संग्रह उपनिर्वाचन भएको बताएका हुन ।

उनले बर्तमान सरकार संचार क्षेत्र, न्यायालय, प्रहरी प्रशासन तथा मानव अधिकार लागायतलाइ तर्साएर अधिनायकावादी शैलीबाट अगाडि बढेको भन्दै आउँदै गरेको उपनिर्वाचनमा जनताले विवेकको मत प्रयोग गर्नुपर्ने बताए ।

कांग्रेसले जित्दा लोकतन्त्र बलियो हुने तथा हार्दा लोकतान्त्रिक पद्धति नै धरापमा पर्न सक्ने भन्दै नेता केसीले मतदाताको एकएक मतको उपनिर्वाचनमा महत्वपूर्ण अर्थ हुने बताए ।

कार्यक्रममा कास्की–२ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका खेमराज पौडेलले उपनिर्वाचनमा कांग्रेसलाई जिताउन भन्दा पनि लोकतान्त्रिक ब्यवस्थालाई जोगाउन मतदान गर्न मतदातालाइ आग्रह गरे ।

उनले आउँदै गरेको निर्वाचनमा कांग्रेसप्रति जनताको सद्भाव देखिएको भन्दै पार्टीका शीर्ष नेताहरु समेत एकजुट भएर उपनिर्वाचनमा होमिएको बताए ।

पौडेललाई पोखरामा त्यागी नेताका रुपमा लिइएको छ । लामो समय शिक्षण पेशामा सक्रिय रहेका उनलाइ पोखरेलीहरुले ‘खेमराज गुरु’का नामले समेत चिन्ने गरेका छन् ।