काठमाडौं, मंसिर ९ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले अतिक्रमित नेपाली भूमि फिर्ताको माग गर्दै नेपालस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ ।
सोमबार मोर्चाले लैनचौरस्थित भारतीय दूतावासमा पुगेर अतिक्रमित भूमि र कालापानीमा तैनाथ सेना फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

मोर्चाले भारतीय दूतावासअगाडि झन्डै दुई घन्टा नाराबाजी गरेको थियो ।
ज्ञापनपत्र बुझाएर फर्किएका मोर्चाका संयोजक सीपी गजुरेलले सानो दबाबले भारतले नेपाली भूमिबाट आफ्ना सेना फिर्ता नगर्ने भन्दै ठूलै आन्दोलनको खाँचो रहेको औंल्याए ।

‘यतिमात्र उद्धेलित भएर भारतीय विस्तारवादले कालापानीमा राखेको सेना फिर्ता गर्दैन’–उनले भने–‘यसको निम्ति नेपाली वीर जातिजनले एक÷एक इन्च जमिनको लागि बलिदान गरौं ।’
उनले अगाडि भने–‘जसका पुर्खाहरुले बलिदान गरे । जसले नालापानीजस्तो युद्ध लडे । सिन्धुलीगढीमा त्यतिखेरको सबैभन्दा शक्तिशाली अंग्रेजलाई परास्त गरेर पठायो, त्यसका हामी सन्ततिहरु हौं । हामी उद्धेलित बनेरमात्रै पुग्दैन, हाम्रो त्यो तातो रगत अब एकपटक उम्लिनुपर्छ, उमाल्नुपर्छ ।’
दूतावासअगाडि विरोधसभा
सोमबारै सीमा बचाउ सांस्कृतिक अभियान नेपालले पनि भारतीय दूतावासअगाडि विरोधसभाको आयोजना गर्दै ज्ञापनपत्र बुझाएको छ ।
विरोध कार्यक्रममा रंगमञ्च र नेपाली चलचित्रका कलाकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्