Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


श्रम ऎनको केहि धारा संशोधन आवश्यकः ट्रेड युनियन


0
Shares

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले श्रम ऎन २०७४ को कतिपय धाराले श्रम क्षेत्रमा विवाद खाडा गरेकोले संशोधन गर्नुपर्ने बताउनु भएको छ ।

सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले राजधानीमा आयोजित श्रम प्रशासनबारे राष्ट्रिय कार्यशाला गोष्ठीमा यस्तो विचार राख्नु भएको हो ।

श्रम ऎन २०७४ को धारा १४५ को श्रमिक कटौती गर्न सक्ने प्रावधानको दुरुपयोग गरी रोजगारदाताले बिना कारण श्रमिक निष्कासन गर्दा ठुलो समस्या खाडा भएको उहाँको भनाई छ ।

ऎन कानुनको मर्म विपरीत प्रयोग हुने यस्ता विवादित धारा र दफा संशोधन हुनु पर्ने बताउनु हुँदै योगदानमा आधारित सामाजिक सुरक्षामा समावेश हुने सन्दर्भमा देखिएको बैंक ,वित्तिय संस्था र होटेल क्षेत्रका समस्यालाई समेत समाधान गर्नुपर्ने बताउनुभयो ।

ट्रेड युनियन कांग्रेसका अर्का उपाध्यक्ष अजयकुमार राईले कोरोना महामारीका कारण श्रमजीवी वर्ग ठुलो पिडामा हुँदा समेत राज्य बेखबर रहेकोमा आश्चर्य प्रकट गर्नुभयो ।

उहाँले महामारीको मौका छोपि श्रम ऎन कार्यान्वयन नगरी विभिन्न सेवा सुविधा र अधिकार कटौती भएकोमा विरोध जनाउनु हुँदै सो कार्य नरोकिए श्रमजीवीको अधिकार रक्षाकालागि ट्रेड युनियन कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले श्रम ऎन र कानुन प्रभावकारी कार्यान्वयन नहुँदा औद्योगिक सम्बन्धमा मात्र दरार नआई उत्पादन र उत्पादकत्वमा समेत असर पर्ने भएकोले ऎन कानुन कार्यान्वयनमा सबैपक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । श्रम विभागका उपसचिव मणिनाथ गोपले कोरोना महामारीका कारण श्रम ऎन पुर्णरुपमा कार्यान्वयन गर्न नसकेको स्विकार गर्नु हुँदै ऎन कानुनमा केहि समस्या भए संशोधनकोलागि सिफारिस गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका उपमहासचिव गणेश बहादुर केसि, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल , नेपाल व्युटिसियन संघका अध्यक्ष भगवती खड्काले कोरोना महामारीका कारण श्रमजीवी बेरोजगारका साथसाथै विविध समस्याले मानसिक विचलन आउन थालेकाले सबैखाले सहयोग एवं ढाडस दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा श्रम विभागका पुर्व प्रमुख वरुण कुमार झाले श्रम प्रशासनको वर्तमान अवस्थाकोबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीको अध्यक्षयतामा सम्पन्न भएको ट्रेड युनियन कांग्रेसका प्रचारप्रसार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिनुभयो ।