कास्की । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले काँग्रेस सभापति शेरबहादुर देउवाले सीमा विवादको बिषयलाई चुनावी प्रचारको मसला बनाएको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ कास्की शाखाले आज पोखरामा गरेको पत्रकार भेटघाटको क्रममा सभापति देउवाले चुनावी मसला बनाएर देशकै गम्भीर बिषयलाई हलुका रुपमा लिएको जिकिर गरे ।
सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले राष्ट्रहित विपरीत काँग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि गरेकोदेखि अघिल्लोपटक देउवा प्रधानमन्त्री बन्दा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको प्रसंगसमेत उठाए ।
यो सरकारलाई मुन्टो लुकाएर राष्ट्रियताको पक्षमा हिँड्नुपर्ने कुनै जरुरत नभएको प्रष्ट पार्दै उनले अरु कसैको एक इन्च जमिन पनि नचाहिएको र आफ्नो जमिन समेत अरुलाई नदिने बताए ।
यो बिषयमा भारतसँग दवाव र प्रयास राखेर छलफलबाटै टुंगोमा पुग्ने दावी गरे । यसअघि हिजो काँग्रेस सभापति देउवाले नेपाली भूभाग भारतीय नक्सामा राख्न प्रधानमन्त्री केपी ओलीले नै लगाएको आरोप लगाएका थिए ।









प्रतिक्रिया दिनुहोस्