Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


कास्कीमा चुनावी रौनक, विद्या र खेमराजबीच मुख्य प्रतिस्पर्धा


0
Shares

-प्रदीप पौडेल/ईमेज

पोखरा । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ मा दहरुले चुनावी प्रचारप्रसार तीव्र वनाएका छन ।

विभिन्न दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले बिहानैदेखि साँझसम्म चुनावी प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।

प्रतिनिधिसभा सदस्य पदको लागि देशमै एकमात्र क्षेत्र कास्की २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको सक्रियता बढेको छ ।

मतदातालाई आकर्षित पार्न राजनीतिक दलहरुले घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राखेर प्रचार कार्यलाई अघि बढाएका छन् ।

स्वतन्त्रसहित कुल २१ जना उम्मेदवार रहे पनि यहाँ मुख्यतः नेकपा र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा देखिएको छ ।

उम्मेदवारहरू घरघरमा पुगेर मतदाताबीच आफू सांसदमा निर्वाचित भएपछि जनताको सेवामा समर्पित भएर काम गर्ने र सदैव सुखदुःखमा साथ दिने प्रतिबद्धता प्रकट गरिरहेका छन् । 

अधिकांश उम्मेदवारले पोखरालाई पर्यटकीय क्षेत्रका रूपमा अन्तर्राष्ट्रियस्तरको पहिचानमा थप वृद्धि गर्ने, बेरोजगारी, सुकुम्बासी, नदी नियन्त्रणलगायत समस्या समाधान गर्ने सम्बन्धमा मतदातासमक्ष वाचा गरिरहेका छन् ।

सत्तारुढ दल नेकपासहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी, साझा पार्टी लगायतका दलले चुनाव प्रचारप्रसार समिति नै गठन गरेका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएकाले पनि प्रचार समिति गठन गरी आफ्नो पक्षमा मत मागिरहेका छन् । पहिलो चरणको कार्यक्रमअन्तर्गत दलहरुले सबै वडामा घरदैलो कार्यक्रम सकाएका छन् ।

कास्की क्षेत्र नम्बर २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारमध्ये सबैभन्दा पाका काँग्रेसका खेमराज पौडेल र कान्छो उम्मेदवार सुनील भुसाल छन् ।

चुुनावमा काँग्रेस (वीपी) बाट चन्द्रबहादुर रानाभाट, नेकपा (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राष्ट्रिय जनमुक्तिबाट पूर्णबहादुर राना छन् ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्ल उम्मेदवारको रुपमा रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

यस्तै, १० स्वतन्त्र उम्मेदवारहरु पनि रहेका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सो क्षेत्र रिक्त रहन गएको थियो ।

२०७४ सालको चुनावमा रवीन्द्र अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए । हाल कास्की क्षेत्र २ मा ७१ हजार ८ सय ७१ मतदाता छन् ।