काठमाडौं, मंसिर ३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकारमाथि २१ बुँदे असफलताको आरोप लगाएको छ ।
केपी शर्मा ओली सरकारको २१ महिनाका कामको समीक्षा गर्दै कांग्रेसले निर्मला पन्त बलात्कार कान्डदेखि ‘होली वाइन’ प्रकरण हुँदै सीमा विवादसम्मका घटनाहरु समेट्दै सरकारका २१ बुँदे असफलता सार्वजनिक गरेको हो ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले संविधानको स्वीकार्ने दायरा विस्तार गर्न नसकेको, संविधानका बाँकी कार्यभार पूरा गर्न नसकेको, कूटनीतिक मामिलामा अपरिपक्वता प्रदर्शन गरेको, मूल्य नियन्त्रण गर्न असफल भएको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र संघीयताका बाँकी कार्यभार पनि पूरा गर्न नसकेको आरोप लगाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार राष्ट्रियताको सवाललगायतका विषयमा पूर्णतः असफल भएको भन्दै उपनिर्वाचनअघि मतदाताले सरकारका २१ महिनाका २१ ओटा असफलता केलाउन जरुरी रहेको जिकिर गरे ।
प्रवक्ता शर्माले सीमा विवादबारे प्रधानमन्त्री ओली ‘मिडिया खपत’का लागिमात्र बोलेको तर समस्या समाधानका लागि पहल नगरेको आरोप लगाए ।
यस्तै, ‘वाइडबडी’लगायतका अनियमितताको छानबिन नगरेको, बूढीगन्डकी आयोजनामा राष्ट्रघात गरेको, मेलम्ची आयोजना समयमा पूरा नगरेको, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल अन्योलमा परेको, चिकित्सा शिक्षामा विद्यार्थी ठगी गर्नेलाई कारबाही गर्न नसकेको, प्रेसमाथि नियन्त्रण गरेको, धर्मका विषयमा विवादास्पद काम गरेको र सरकारको अभिव्यक्ति नै असहिष्णु रहेको पनि २१ बुँदे आरोपमा उल्लेख छ ।
सत्ताको नेतृत्व गरिरहेको दल नेकपाले आफ्ना कार्यकर्तालाई नवमन्डले बनाउन खोजेको आरोप लगाउँदै कांग्रेसले आगामी उपनिर्वाचनको मत परिणामले सरकार नबदले पनि सरकारको शैली बदल्न महत्वपूर्ण अवसर हुने बताएको छ ।









प्रतिक्रिया दिनुहोस्