Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


गुरुवागाउँको मेला भेडा जुधाएर बहादुरी


0
Shares

भेषराज बस्नेत राँझा

बाँके, कात्तिक २७ । नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुग्नुभएको छ ।

बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित ३० वर्षदेखि भेडा जुधाउन आउने गर्नुभएका घनश्याम यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देख्छन्, “लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका घनश्यामले भने,  “सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने रु १० हजार छ भने त्यसको मूल्य रु २५÷३० हजार भइहाल्छ ।”

डुडुवा गाउँपालिका–४ बाट भेडा जुधाउन आउनुभएका दौलतप्रसाद यादवले भेडा लडाउने खेल सोखका लागि हुने गरेको बताउछन् । “भेडा लडाउने हाम्रो सोख हो, पाल्ने, लडाउने, हारेपछि बगरेलाई दिने”, यादवले भने, “लाडकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।”

उनका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडालाई गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु २० हजार पर्दछ ।

भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरिएको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक रमेशकुमार बर्माकोे भनाइ छ ।

मेलामा भेडापालक किसान स्वःस्फूर्त रूपमा भेडा ल्याएर जुधाउने गरेको बर्मा बताउछन् । केही सौैखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिकरूपमा भेडा पाल्ने किसान भने नरहेको उहाँले जानकारी दिए ।

गुरुवागाउँ मेलामा भेडा जुधाउने किसानको सङ्ख्या घट्दै गएको छ । “२० देखि २२ पुग्ला भनेको त्यो पनि भएन, यो वर्ष धेरै रमाइलो हुन सकेन”, छिमेकी गाउँ गनापुरबाट भेडो लिएर गुरुवागाउँ पुगेका परशु धोबीले भने, “भेडा पाल्न सबैले छोडिसके, हामी त यही मेलाका लागि भनेर मात्रै मेहनत गर्दछौँ ।”

गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न सर्वसाधारण टाढाटाढाबाट आउने गर्दछन् । गुरुवागाउँ मेलाको मुख्य विशेषता नै भेडा जुधाउने खेल हो । तर यो वर्ष कम सहभागिताले भेडा जुधाइ हेर्न आएका सर्वसाधारणसमेत खिन्न हुनपुगे ।

धेरै वर्षदेखि गुरुवागाउँ मेला हेर्दै आउनुभएका खजूरा गाउँपालिका–३ निवासी सुमन सापकोटाले यो वर्ष भेडा जुधाइ हेर्न नपाएकोमा पछुतो लागेको बताए ।  “म साँझपख पुगेँ, भेडा जुधाइ दिउँसै भएछ, मैले हेर्नै पाइनँ”, सापकोटाले भने ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुग्नुभएका शालिकराम प्रत्येक वर्ष आउने गरेको बताए । यो वर्ष थोरै सहभागी भएकोले धेरैले हेर्न नपाएको उनले बताए ।

अन्य वर्षको तुलनामा यसपटक गुरुवागाउँको मेलामा भेडा जुधाउन थोरै मात्रै आएको मेला व्यवस्थापन समितिका अध्यक्ष रामवचन कुर्मीले बताए ।  मेला शुरु भएदेखिनै भेडा जुधाउने खेल हुँदैआएको उनले उल्लेख गरे ।

गुरुवागाउँका ९२ वर्षीय भगौतीप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखिनै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताए । “पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैनथ्यो,  त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो”, अहिरले भने, “तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएको छ ।” रासस