Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


ओलीको विज्ञप्तिपछि आयोगको काउन्टर विज्ञप्ति, कारबाहीको चेतावनी


0
Shares

काठमाडौं । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री समेत रहेका उपनिर्वाचनका प्रत्यासी रामबहादुर थापा बादलको पक्षमा मत मागेसँगै निर्वाचन आयोगले आचारसंहिता पालना गर्न भनेको हो ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि मौन अवधि सुरु भइसकेपछि पनि आचार संहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमार्फत आयोगले केही व्यक्तिहरूले आचार संहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसारण गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यस तर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आचार संहिता पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिइएको छ । आयोगले बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ ।