
-अक्कल कुँवर र सहदिप केसी(ईमेज)
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको विवाद चरम उत्कर्षमा पुगेको छ ।
आन्तरिक विवादकै कारण आइतबार तरुण दलको ६६ औं स्थापना दिवस अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाही समुहले छुट्टाछुट्टै रुपमा मनाए ।
भ्रातृसंगठनको विवाद मिलाउन पहल गर्नुको सट्टा मातृपार्टीका जिम्मेवार नेताहरु नै गुटको पक्षपोषण र गुटमै रमाउन थालेपछि तरुण दलभित्रको विवाद थप जटिल बन्दै गएको छ ।
मातृ पार्टी नेपाली कांग्रेसले भदौमा संचालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको पूर्वसन्ध्यामा जागरण अभियानलाई औचित्यहीन भनी सार्वजनिक अभिव्यक्ति दिएको कारण देखाउँदै शाहीलाई अध्यक्ष बस्नेतले महासचिव र साधारण सदस्यताबाट निष्कासन गरेका थिए ।
जवाफमा महासचिव शाहीले अध्यक्षले महासचिवलाई हटाउन नसक्ने भन्दै विभिन्न चार बुँदे आरोप लगाउँदै अध्यक्ष बस्नेतलाई अध्यक्ष पदबाट हटाएको विज्ञप्ती निकाले ।
पोखरा अधिवेशनदेखि नै सुरु भएको विवाद तरुण दलको स्थापना दिवससम्म आईपुग्दा थप जटिल देखिएको छ ।
तर, तरुण दलका नेता कुमार अधिकारीले तरुण दलभित्र विवाद नभई विधि विधान नमान्ने केही व्यक्तिको सस्तो प्रचारवाजी मात्र भएको जिकिर गरे ।
आईतबार संस्थापन पक्षले पार्टी कार्यालयमा स्थापना दिवस कार्यक्रममा सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका अधिकांश नेता सहभागी भएपनि आमन्त्रण गरिएका संस्थापन इतरका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता सहभागी भएनन् ।
महासचिव पदबाट निष्काशन गरिएका भूपेन्द्र शाहीले महासचिवकै हैसियतमा सामाखुसीस्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको समानान्तर कार्यक्रममा पनि आमन्त्रण गरिएका बरिष्ठ नेता पौडेल लगायत संस्थापन इतर पक्षका नेताहरु सहभागि भएनन् ।
तर, संस्थापन इतर पक्षका प्रभावशाली नेताद्धय डा. रामशरण महत र डा. शेखर कोइराला सहभागि भए । कार्यक्रममा उनीहरुले तरुण दलको विवाद स्वभाविक भएको भन्दै न्यायका लागि लड्न आह्वान गर्दै विवादलाई मलजल गरे ।
विवाद मिलाउने भन्दा नेताहरु गुटको पक्षपोषण गर्ने र बैधानिकता दिने प्रवृत्ति कांग्रेस र सिङ्गो मुलुककै लागि दुर्भाग्य भएको अधिकारीको टिप्पणी छ ।
त्यसो तरुण दलको ३ वर्षे कार्यकाल सकिन दुई महिनामात्र बाँकी भएपनि विधान अनुसार अझै ९५ सदस्सीय केन्द्रीय समितिले पूर्णता पाएको छैन् ।
नेताहरुबीच भागबण्डाको आधारमा ०७३ भदौमा पोखरामा भएको महाधिवेशनबाट जितजंग बस्नेतको अध्यक्षतामा ४ सदस्सीय कार्यसमिति गठन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्