
रमेश लम्साल (रासस)
काठमाडौं, कात्तिक ९ । तीन वर्षपहिले बत्तीको पर्वकोरूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पनाबाहिरको विषय थियो ।
नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् । तर, बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो ।
घरायसी उपभोक्ताले साँझको समयमासमेत बत्ती बाल्न नपाएर निराश हुन्थे । उनीहरु सरकार र प्राधिकरणलाई गाली गरेर अँध्यारैमा लक्ष्मीको आराधना गरेर बस्थे ।
समय बदलियो । नेतृत्व बदलियो । नीति र कार्यक्रमसमेत बदलियो । वि.सं. २०७३ को लक्ष्मीपूजाको दिनदेखि नै विद्युत्भार कटौतीको अन्त्य भएको घोषणा गरियो ।
तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैं कार्यस्थलमा खटेर लक्ष्मीपूजालाई वास्तवमै उज्यालो बनाएका थिए ।
मुलुकबाट नै विद्युत्भार कटौतीको अन्त्य भएको घोषणासँगै प्राधिकरणमाथि अर्को आरोप पनि लाग्यो, ‘भारतबाट महँगोमा किनेर ल्याएको विद्युत्बाट अँध्यारो हटाइयो’ ।
आलोचकले त विभिन्न बहाना निकालेर सरकार र प्राधिकरणको आलोचनामा नै समय खर्चिए । प्राधिकरणलाई भारतबाट विद्युत् आयात गर्नु बाध्यताजस्तै थियो ।
आन्तरिकरूपमा पुग्दो विद्युत् नभएका कारण पनि भारतको भरपर्नु परिस्थितिको उपज नै थियो । प्राधिकरणले अनेकन प्रयास गरेर सहजरूपमा उपभोक्तालाई विद्युत् उपलब्ध गराएकै थियो ।
अघिल्ला दुई वर्षमा प्राधिकरणले अनेकन उपाय लगाएर भएपनि उपभोक्तालाई विद्युत् उपलब्ध गरायो ।
यसपटक भने प्राधिकरणले आन्तरिक उत्पादन नै प्रयोग गरेर यसपटकको लक्ष्मीपूजाको दिन देशभर नै उज्यालो बनाउने भएको छ ।
विगतमा भारतको भर परेरमात्रै उज्यालो बनाएको प्राधिकरणमाथि लागेको आरोप यसपटकदेखि भने हट्नेछ ।
‘कसरी व्यवस्थापन भयो त आन्तरिकरूपमा नै सहज विद्युत् हुने अवस्था ?’ राससको प्रश्नमा प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने–‘प्राधिकरण र निजी क्षेत्रका सबै आयोजना पूर्ण क्षमतामा चल्ने भएकाले भारतबाट नगन्य मात्रामामात्रै विद्युत् आयात हुन्छ ।’
प्राधिकरणले आफ्ना आयोजनाबाट कुल ९ हजार १३५ मेगावाट घन्टा विद्युत् उपलब्ध गराइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट कुल १० हजार २१६ मेगावाट घन्टा विद्युत् उपलब्ध भइरहेको छ । भारतबाट एक हजार ८२९ मेगावाट घन्टा विद्युत् आयात भइरहेको छ ।
यतिबेला मौसममा कुनै बदली नभएका कारण देशव्यापीरूपमा नै कहीँ–कतै पनि ‘ट्रिपिङ’को समस्या छैन ।
प्राधिकरणकाअनुसार हाल प्रणालीमा कुल २१ हजार २७० मेगावाट घन्टा विद्युत् माग रहेको छ ।
त्यस्तै, प्राधिकरणले हाल दैनिकजसो नै ५३३ मेगावाट विद्युत् भारत निर्यात गरिरहेको छ ।
प्राधिकरणले जगेडाकारुपमा कुलेखानीका तीनओटै आयोजना पनि राखेको छ । ती आयोजनाबाट कुल १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र हालै सन्चालनमा आएको कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
ती आयोजना जलाशय प्रकृतिका भएका कारण पनि आवश्यक परेको समयमामात्रै चलाउने गरी व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
हाल प्राधिकरणको प्रणालीमा एक हजार २५० मेगावाट विद्युत् उपलब्ध छ । यस वर्षको ६ महिनामामात्रै १५० मेगावाट विद्युत् थप भइसकेको छ ।
आन्तरिकरूपमा नै विद्युत् पर्याप्त भएकाले कुनै भवितव्य नहोस् भनेरमात्रै भारतबाट आयात हुने विद्युत् जोडिराखिएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट हाल ५० मेगावाटको हाराहारीमामात्रै विद्युत् आयात गरिरहेको छ ।
आयात भएकामध्ये ३० मेगावाट विद्युत् रक्सौल–परवानीपुर १३२ केभी प्रसारणलाइनमार्फत् बिहारतर्फ निर्यात गरिएको छ । बाँकी रहने २० मेगावाट विद्युत्मात्रै प्रणाली सुरक्षाका लागि उपलब्ध भइरहेको छ ।
कुलेखानी चलाउँदा उत्पादन हुने विद्युत् भारत नै निर्यात हुने गरेको छ । जलाशयको सतहलाई सन्तुलित बनाइराख्न पछिल्ला दिनमा कहिले–काहीँ एकाध घन्टा कुलेखानी चलाउने गरिएको प्रवक्ता अधिकारीको भनाइ छ ।
कुलेखानीको जलाधार क्षेत्रबाट जम्मा हुने पानीको मात्रा उस्तै रहेका कारण पनि जलाशयलाई सन्तुलित बनाइराखिएको प्राधिकरणको भनाइ छ ।
आन्तरिक विद्युत्बाट नै दीपावलीलाई झकीझकाउ बनाउने गरी योजना तयार भएको र प्राधिकरणका सबै वितरण केन्द्र, आयोजना तथा ग्रीडका कर्मचारीलाईसमेत तम्तयारी अवस्थामा राखिएको छ ।
काठमाडौं उपत्यकाको विद्युत् प्रणालीको अवस्था पहिचानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्रवक्ता अधिकारीको टोली परिचालित भएको छ ।
शनिबार पनि उपत्यकाका सबै क्षेत्रको अवस्थाकोबारेमा कार्यकारी निर्देशक घिसिङले जानकारी लिएको प्रवक्ता अधिकारीको भनाइ थियो ।
प्राधिकरणका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीको नेतृत्वमा अर्को टोली स्थलगत निरीक्षण तथा आवश्यक तयारीका लागि परिचालित छ ।
कुनैपनि घर अँध्यारोमा बस्नु नपरोस्, सबै घरमा बत्ती बलोस् भन्ने लक्ष्यका साथ सबै तयारी गरिएको प्राधिकरणको भनाइ छ ।
‘क्षमताअनुसार बत्ती बाल्नोस्’
अघिल्ला वर्षहरुमा बढी विद्युत् माग हुने समयमा धेरै विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गर्ने प्राधिकरणले यसपटक निर्धक्क भएर बत्ती बाल्न उपभोक्तालाई आग्रह गरेको छ ।
बत्तीको उपलब्धता बढी भएकाले उपभोक्ताले बत्तीको पर्वमा आफ्नो क्षमताअनुसार नै बत्ती बाल्न आग्रह गरिएको प्रवक्ता अधिकारीको भनाइ छ ।
प्राधिकरणले विद्युत् पुगेका स्थानका कुनैपनि घर अँध्यारोमा बस्न नपरोस् भनेर सबै व्यवस्था मिलाएको जनाएको छ ।
लक्ष्मीपूजाको दिन १२०० मेगावाट माग
प्राधिकरणले लक्ष्मीपूजाको दिन देशभरको विद्युत् माग बढीमा एक हजार २०० मेगावाट पुग्ने प्रक्षेपण गरेको छ ।
भारप्रेषण केन्द्रले तय गरेको आँकडाअनुसार कुल एक हजार १९० मेगावाटदेखि एक हजार २०० मेगावाटको हाराहारीमा विद्युत् माग पुग्नेछ ।
तिहारको समयमा उद्योगधन्दा पनि बन्द हुने भएकाले घरायसी उपयोगका लागिमात्रै विद्युत् माग बढ्दा त्यसले खासै समस्या नपर्ने प्राधिकरणको बुझाइ छ ।
आन्तरिकरुपमा बढी भएको खन्डमा निर्यात गरिरहेकोभन्दा बढी विद्युत् भारत निर्यात गर्नसक्ने अवस्थामा प्राधिकरण पुगेको छ ।
बर्दघाट सबस्टेसनमा बिहीबार राति आगलागी भएपनि सो क्षेत्रका २९ हजार उपभोक्तालाई वैकिल्पक उपायबाट विद्युत् उपलब्ध गराइएका कारण कुनैपनि घरमा अँध्यारो नहुने प्राधिकरणको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्