३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


काठमाडौंमा बेड नपाएपछि कोरोना उपचारका लागि मोफसल धाउदै बिरामी (भिडियाेसहित)


0
Shares

सुरेन्द्र भण्डारी

झापा । झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पताललाई कोराना संक्रमितको उपचार गर्न भ्याई नभ्याई छ यति बेला । अस्पतालले कोभिडका विरामीलाई मध्यनजर गर्दै भेन्टिलेटर सहित ६५ वटा सघन उपचार कक्ष(आईसीयू) र २ सय शय्या सञ्चालनमा ल्याएपछि ‘हवाई बेड लिफ्ट’ मार्फत उपचारका लागि यो अस्पतालमा आउनेको संख्या बढ्दै गएको छ ।

संक्रमितको उपचारका लागि मात्रै एक सय २४ जना चिकित्सकले चौवीसैं घण्टा सेवा प्रदान गर्न थालेसंगै बीएण्डसीमा काठमाडौंसहित दाङ, बीरगञ्ज, नेपालगञ्ज,दोलखा, काभ्रे,सोलुखुम्वू लगायतका जिल्लाबाट दिनहुँ हेलिकप्टर मार्फत कोरोना संक्रमित आउन थालको बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताउनुभयो ।

बीएण्डसी मेडिकल कलेजकै हाताभित्र रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा समेत गरी ९ सय शय्या रहेको यो अस्पतालमा कोभिडका बिरामीलाई छुट्टै रुपमा क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर, करुण पोखरेल र अर्थाेका इन्साक खाँन सहितको टोलीले सेवा प्रदान गरिरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गरीले बताउनुभयो ।

मोफसलमा भएपनि सुविधासम्पन्न भएकाकारण नयाँ भेरियन्टका संक्रमित उपचारका लागि यो अस्पताल आउने गरेकाछन् । कोरोना संक्रमितको सख्या बढ्दै जानु र काठमाडौं लगायतका अन्य जिल्लाका अस्पतालमा आइसीयू आभाव हुनुले पनि बीएण्डसी अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेर गएको अस्पतालका क्रिटिकल केयर एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठको धारणा छ ।
यो अस्पतालमा अहिले एक वर्षीया बालक सहित ४६ जना कोभिडका विरामीले उपचार गराई रहेका छन् ।

हेलिकोप्टर मार्फत ल्याउन सहज भएका कारण पनि अधिकांश विरामीहरु यो अस्पतालमाा आउने गरेकाछन् । पहाडि जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम त्यसैगरी मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभाका कोभिड संक्रमित यहाँ आउने गरेकाछन् । मेची प्रादेशिक अस्पताल भद्रपुर सहित बिर्तासिटी अस्पताल बिर्तामोड र दमक अस्पतालमा समेत कोभिडका विरामीको उपचार हुँदै आएको छ । अस्पतालमा दिन प्रतिदिन कोभिडका विरामी बढ्दै जाँदा अस्पतालमा भएका सिमित चिकित्सकले मात्र उपचार गर्न सम्भव नहुने हुँदा सरकारी तवरबाट समेत चिकित्सक राखेर महामारीको यो समयमा नागरिकको उपचारका लागि सरकार गम्भीर बन्नु पर्ने देखिन्छ ।