
काठमाडौं, कात्तिक ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस उपनिर्वाचनको तयारीमा जुटेको छ ।
आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका विषयमा पार्टीका तर्फबाट उम्मेदवार चयनलगायतका तयारी थाल्न कांग्रेसका शीर्ष नेताहरु जुटेका छन् ।
निर्वाचन र त्यसको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाइएको पूर्वसन्ध्यामा बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकन्ठस्थित निवासमा शीर्ष नेताहरुले बैठक गरी निर्वाचनको रणनीतिबारे छलफल गरेका छन् ।
कांग्रेसमा हरेक निर्वाचन पार्टीभित्र अन्तर्घातका कारण हार्नुपरेको भन्दै एकार्काप्रति आरोप–प्रत्यारोप हुने गर्छ ।
बिहीबारको केन्द्रीय समिति बैठकमा साझा एजेन्डा लैजान र निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर लाने विषयमा छलफलका लागि शीर्ष नेताहरु बैठक बसेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले उपनिर्वाचनमा धेरैभन्दा धेरै स्थानमा जित्नेगरी रणनीति बनाउनका लागि पार्टी औपचारिक र अनौपचारिक छलफलमा जुटिरहेको भन्दै बुधबारको बैठक पनि त्यसकै निरन्तरता रहेको जानकारी दिए ।
कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबार अपराह्न पार्टी कार्यालय सानेपामा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्