Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


चन्दका कास्की जिल्ला सेक्रेटरीसहित चारजना पुनः पक्राउ, अदालत परिसरमै विरोध


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, कात्तिक १ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित चारजनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले शुक्रबार पुनः पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्वतको आदेशमा जनही पाँच हजार रुपैयाँ धरौटीमा उनीहरु छुटेका थिए ।

पक्राउ पर्नेमा नेकपा कास्की जिल्ला सेक्रेटरी रोल्पाको गंगादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी, नेकपा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भोजपुरको भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखाको सुलिकोट गाउँपालिका–६ का २७ वर्षीय काजी गुरुङ र बागलुङको ढोरपाटन नगरपालिका–६ का नेकपा समर्थक ३१ वर्षीय महेन्द्र भण्डारी छन् ।

प्रहरी हिरासतमा रहेका उनीहरु चारैजनालाई पर्वत जिल्ला अदालतले गएको असोज २८ गते जनही पाँच हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

आदेशानुसार रकम बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका थिए ।

शुक्रबार धरौटी बुझाउन अदालत गएको समयमा धरौटी बुझाएपछि प्रहरीले पुनः पक्रेको हो ।

उनीहरुलाई राज्यविरुद्धको कसुर गरेको आरोप लगाउँदै गएको जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११, उरीस्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक बसिरहेका बेला पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याइएको थियो ।

विरोध

पुनः पक्राउअघि चारैजनाले बिनापक्राउ पुर्जी कानुनी राज्यको उपहास गरी आफूहरुलाई पटक–पटक गिरफ्तार गरेको भन्दै विरोध गरेका थिए ।

शुक्रबार अदालत परिसरमा नै पत्रकार सम्मेलन गरी राज्यले गैह्रकानुनीरुपमा आफूहरुलाई पटक–पटक गिरफ्तार गर्ने गरेको कास्की जिल्ला सेक्रेटरी भण्डारीले आरोप लगाए ।

पक्राउ गरिएका चारैजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।