
काठमाडौं, असोज २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् ।
पार्टीले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापन कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले भने–‘जुन लोकप्रिय र प्रभावकारीरुपमा कार्य गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । आकाशेखेती जसरी काम गरेर गन्तव्यमा पुगिँदैन ।’
तीव्रगतिमा कार्यसम्पादन गरी ठोस ढंगले अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
सन्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उनले सचिवालय बैठकमा मन्त्रिमन्डल पुनःगठनकाबारे छलफल नभएको बताउँदै राष्ट्रिय आवश्यकताअनुसार यस विषयमा सरकार अगाडि बढ्ने र आसन्न उपनिर्वाचनमा पार्टीले कसरी सफलता प्राप्त गर्ने भन्नेबारे छलफल भएको बताए ।
सभामुख पदको निर्वाचनकाबारे उपयुक्त समयमा उचित निर्णय लिइने उनको भनाइ थियो । रासस
प्रतिक्रिया दिनुहोस्