
काठमाडौं, असोज २५ । चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुन लागेको नेपालको दुईदिने राजकीय भ्रमणले दुई मुलुकको सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
यो भ्रमणले दुई देशबीचको शताब्दीऔं पुरानो जनस्तरको सम्बन्ध थप सुदृढ हुने अपेक्षासँगै नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदारीमा नयाँ आयाम थपिने ठानिएको छ ।
नेपालमा नयाँ संविधान जारी भएसँगै त्यसैअनुरुप तीनओटै तहका निर्वाचनपछि नेपालको परिवर्तित राजनीतिक–सामाजिक सन्दर्भमा चिनियाँ राष्ट्रपति सीको भ्रमणको विशेष महत्व छ ।
चीनबाट राष्ट्राध्यक्षकै तहमा हुन लागेको यो भ्रमणले दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिने विश्वास लिइएको छ ।
चीनसँगको व्यापार घाटा घटाउने उपायको खोजी र त्यसको कार्यान्वयनलाई भ्रमणका बेला हुने उच्चस्तरीय बैठकमा उपयोग गर्नु आवश्यक देखिन्छ ।
चीनको महत्वाकांक्षी परियोजनामा बेल्ट एन्ड रोड इनिसिएटभ (बीआरआई)अन्तर्गत् भौतिक पूर्वाधार विकास, सूचना सञ्जालको महामार्ग निर्माण, नेपालको व्यापार बढोत्तरीमा सघाउनेजस्ता विकासका संरचना बनाउन नेपालले आफ्नो प्रतिबद्धता जनाइसकेको छ ।
चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीबाट रेलमार्ग निर्माणका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौताले नेपालको व्यापार विविधीकरणमा सहयोग हुनुका साथै त्यसले नेपालको व्यापार वृद्धिमा योगदान पुग्नेछ ।
नेपालमा सबैभन्दा धेरै विदेशी लगानी गर्ने मुलुक चीन हो । र, दोस्रो ठूलो व्यापारको साझेदार चीनले भूकम्पपछिको पुनःनिर्माण, अन्तर्राष्ट्रिय खेलकुद केन्द्रको पुनःनिर्माण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत–सम्भार, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, माथिल्लो त्रिशूली–३ ‘ए’ ३० मेगावाट बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिएको, भेरी–बबई बहुउद्देश्यीय परियोजनाको सुरुङ निर्माणमा सघाइरहेको छ ।
त्यसैगरी, चीनले विद्युत्गृह र प्रसारणलाइनसहित माथिल्लो त्रिशूली जलविद्युत् आयोजना, कोदारी तथा स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नति एवं ती सडकमा पर्ने पुलपुलेसाको मर्मत–सम्भार, निजामती सेवा अस्पतालको स्तरोन्नतिमा पनि चीनले निरन्तर सहयोग गर्दै आएको छ ।
‘ट्रान्स–हिमालयन’ बहुआयामिक ‘कनेक्टिभिटी’मा नेपाल र चीन जोडिएसँगै अब हिमाली क्षेत्रको पर्यावरण एवं जलवायु परिवर्तनसम्बन्धी परियोजनाहरुका साथै रेल्वे सञ्जाल विस्तारमा चीनले योगदान गर्नेछ ।
नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ तथा आपसी लाभका लागि फलदायी तुल्याउन दुवै देशले उच्चस्तरमा परामर्श संयन्त्र गठन गरेका छन् ।
नेपालको सार्वभौमसत्ता, अखन्डता, राष्ट्रिय स्वाधीनतामा चीनको सदैव समर्थन छ भने एक चीन नीतिप्रति नेपाल सधैं प्रतिबद्ध छ ।
औपचारिक कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दाअघि पाँचौं शताब्दीदेखिको सम्बन्ध २१औं शताब्दीमा आइपुग्दा जनस्तर र सरकारीस्तरमा सुदृढ र सबल बन्दै गएको छ ।
यो सम्बन्धलाई चिनियाँ राष्ट्रपतिको भ्रमणले थप उचाइ दिने अपेक्षा राख्नु स्वाभाविक हुनेछ ।
प्रतिक्रिया दिनुहोस्