
ललितपुर । ४० बर्षपछि ठेचोको नवदुर्गा नाच ललितपुर नगरको पट्को डबलीमा नचाइने भएको छ । नाच पुनः संचालनमा ल्याउन नवदुर्गा नाच गुठियार, पट्को टोल सुधार समिति र ललितपुर महानगरपालिका वडा नं. १६ कार्यालयबीच त्रिपक्षीय निर्णय भएको हो । यही असोज २१ गते राति नाच देखाइने भएको छ ।
यो नाच संचालन गर्न यस वडा कार्यालयले आवश्यक पूजा सामग्री र बलि उपलब्धि गराउने भएको छ भने अर्को बर्षदेखि यसका लागि आवश्यक रकम महानगरपालिकाको दरवन्दीमा राखिने निर्णय समेत भएको छ ।
गथु प्याखका नामले प्रचलित नवदुर्गा नाच पाटन दरवार क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नाचहरुमध्ये पुरानो मानिन्छ । यो नाच लिच्छिवीकालीन राजा मानदेवका इष्टदेवता मनमानेश्वरीदेवी र मल्लकालीन तलेजु भवानीसँग सम्बन्धित छ । यो नाच प्रत्येक दशैंको दशमी र कोजाग्रत पूर्णिमामा पाटन दरवारको मूलचोकमा चार दिन नचाउने परम्परा रहेको छ ।
विगत २४ बर्षदेखि रोकिएको यो नाच नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखा, नवदुर्गा गुठियार, पाटन दरवार मूछेँ आगंघर, यल सांस्कृतिक पर्व संरक्षण समितिको पहलमा २०७५ सालदेखि पुनः संचालनमा आएको हो भने यस बर्ष पट्को डबलीमा नचाइने निर्णयले अझ उत्साह थपेको छ ।
विजया दशमीमा मंगलबजार चार दोबाटोमा नवदुर्गा गणको मूल देवता र मनमानेश्वरीबीच एकआपसमा तीनपल्ट ढोगभेट दर्शन गराउने चलन रहेको छ ।
यसपछि नवदुर्गा गणका तर्फबाट भैरव, काली र बाराहीले मनमानेश्वरीलाई नृत्य सहित फूलमाला चढाउने गरिन्छ । उक्त फूलमाला बुङमतीका नाइकेहरुले बुङमतीमा पु¥याई त्यहाँ ह्यग्रीव भैरवको धूमधामसँग जात्रा आरम्भ गर्ने चलन समेत रहेको छ ।
मनमानेश्वरी देवीलाई नृत्यसहित फूल चढाइसकेपछि नवदुर्गा गण दरवारको मूलचोकमा भित्रिन्छ । मूलचोकमा केही बेर नृत्य प्रस्तुतिपछि त्यहाँबाट मंगलबजार नजिकैको पट्को टोलस्थित डबलीमा नृत्य गराउने चलन थियो ।
कला नगरी ललितपुरमा संस्कृति संरक्षणमा सक्रिय अभियन्ताहरु भने असन्तुष्ट देखिएका छन् । महानगरपालिकाले परम्परालाई पनि अन्य कार्यक्रमसरह ब्यवहार गरेको भन्दै उनीहरुले दरवन्दीकै ब्यवस्था नभएरसम्म परम्परा निरन्तर गर्न कठिनाई उत्पन्न भइरहेको आवाज राखेका छन् ।
पाटन दरवार क्षेत्रमा प्रत्येक साँझ अष्टमातृका नाच पनि देखाइदै आएको छ तर लायकू पायो नामले प्रचलित खड्गजात्रा भने अझै सञ्चालनमा आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्