१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


महरा प्रकरण र नेपाल प्रहरीको विश्वसनीयता


0
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको संगीन आरोप लागेको छ । महरामाथि आफ्नै कार्यालयमा काम गर्ने महिला कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी हुन् । यसको परिणाम र नियति के होला त्यो त समयले देखाउँला ।

तर यहाँ जोडिएर आएको अर्को प्रसंग हो, आइतवार राति भएको घटनामा नेपाल प्रहरीको कार्यशैली । एउटी महिलाले मध्यरातमा आफु बलात्कृत भएको खबर प्रहरीलाई तत्कालै गर्छिन् । प्रहरी उनको कोठामा पनि पुग्छ । तर घटनास्थलमा बलात्कार जस्तो संगीन विषयसँग जोडिएका प्रमाण संकलन गर्न प्रहरीले तदारुकता देखाउँदैन । 

जसरी यसअघिका थुप्रैं प्रकरणमा प्रहरीको लापरर्वाही देखिएको छ । पछिल्लो र निकै दुःखान्त घटना बनेको थियो निर्मला पन्त बलात्कारपछि हत्या । जसमा प्रहरीको लापरवाहीले सबै प्रमाण नष्ट हुने अवस्था सृजना भयो । प्रहरीले अझैसम्म पनि घटनाको दोषीको सुराकसम्म पनि पहिल्याउन सकेको छैन ।

यस्तो पृष्ठभूमि र पाठबाट पनि प्रहरीले सिकेको जस्तो देखिएन । महिलाले सभामुख महराबाट आफु बलात्कृत भएको जानकारी दिँदै न्यायको याचना गर्दै खबर गरेपछि तीनकुनेस्थित चौकीबाट प्रहरी ती महिला कर्मचारीको डेरामा पुगेको थियो । तर त्यहाँ पुगेका प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गरी छानबिन थाल्नुको साटो प्रहरी चौकीमा उजुरी दिनुपर्ने भन्दै फर्कियो । जुन बलात्कार जस्तो घटनामा प्रहरीले देखाएको अर्को चूक हो ।

प्रहरीलाई महिलाले आफू बलात्कृत हुनुका साथै महराबाट कुटाईसमेत खाएको बताउँदा पनि केही नगरी फर्किएको देखियो । जसको प्रमाणका रुपमा अघिल्लो दिन राति महराले खाँदाखादै छाडेको भनिएको आधा रित्तिएको रक्सीको बोतल, रक्सी खान प्रयोग गरिएको ग्लास, भाँचिएको चस्मा उस्तै अवस्थामा छाडिएको थियो । उनले आफु बलात्कृत भएको खाट र जिउमा लागेका चोट देखाउँदा पनि प्रहरीले केही नगरेको बताएकी छिन् ।

मानौं, सभामुख महरामाथि लगाइएको आरोप सत्य वा निराधार जे होला । तर के एउटी महिलाले मध्यरातमा आफु फलानाबाट बलात्कृत भएको भन्दै सुरक्षा र न्यायका लागि याचना गर्दा प्रहरीबाट नागरिकप्रति निर्वाह गरिने कर्तव्य यही हो ?

घटनास्थलमा पुगेको प्रहरीलाई अपराध भएको भनिएको ठाउँमा प्राप्त प्रमाणहरु सुरक्षित गर्न के ले छेक्यो ? के त्यसका लागि पनि ‘माथिको आदेश’कै शिरोपर गर्नुपर्ने हो ? कहाँ त्यो ‘माथि’ ?? प्रहरीको बर्दी पहिरिएको एउटा बर्दिधारीले लिएको शपथ फेरिन थालेको हो ? वा प्रहरी संगठनमा अराजकता भूसको आगो जस्तो फैलन थालेको छ ? 

आइतवार राति घटनास्थलमा पुग्ने प्रहरीले त तपाईंलाई अन्याय भएछ, भोलि तीनकुने प्रहरी चौकीमा उजुरी दिनू भन्यो रे ल । त्यसपछि घटनाबारे संसार हल्लिसक्दा पनि प्रहरी नेतृत्व के गर्दैछ ? के उसले घटनाबारे छानबिन थालने हो कि भिआईपी मुछिएको रहेछ भन्दै तालुकवाला निकायतिर जाहेर गर्दै ईशारा कुरेर बस्ने हो ?

घटनास्थलमा पुगेका प्रहरीले नेपाल प्रहरीको मूख्यालयलाई, मूख्यालयको नेतृत्वले गृहमन्त्रालयलाई, गृहले नेकपाको सचिवालयलाई जाहेर गर्दै बस्ने हो र ?

त्यसैले अब किन्तु, परन्तु तिर नलागी घटनाको निष्पक्ष जाँच पड्तालतर्फ सुरक्षा निकाय र राज्य लागोस् ।