१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


वर्षाले ग्रामीण सडक जोखिमपूर्ण


0
Shares

तेह्रथुमबाट प्रकाश लिम्बूको सहयोगमा जिल्ला ब्यूरो

तेह्रथुम, असोज १३ । बडादसैं सुरु भइसकेको छ । तर, यो वर्ष वर्षा रोकिएको छैन ।

वर्षाका कारण देशभरका ग्रामीण सडकहरुको अवस्था बिजोग छ । प्रायः सबै सडकहरु हिलाम्य छन् ।

अरु समयको तुलनामा दसैंमा सवारी–साधनको चाप र यात्रीको संख्या बढ्ने हुँदा दुर्घटनाको सम्भावना बढेकाले सडक सतर्कता एकदमै आवश्यक छ ।

नेपालीहरुको महान् चाड दसैं घरघरमा भित्रिसकेको छ । तर, वर्षा नरोकिँदा दसैं हिलोमै बित्ने हो कि भन्ने त्रास सबैमा छ ।

घटस्थापनादेखि प्रायः विद्यालय, कलेज बिदा हुँदैछन् । बिदासँगै दसैं मनाउन घर फर्कनेहरुको भीड बढ्न थालेको छ । दसैंमा सदैव सवारी–साधनको अभाव हुने गर्दछ ।

यही कारण कमजोर सवारी–साधनहरु पनि क्षमताभन्दा बढी यात्री लिएर हिँड्ने गर्छन् । एकातिर कमजोर सवारी र क्षमताभन्दा बढी यात्री, अर्कातिर कमजोर सडक र लगातारको वर्षा । यही कारण यात्रीहरुले निक्कै सास्ती खेप्नुपरिरहेको छ ।

तेह्रथुम जोड्ने कोसी राजमार्गको वसन्तपुर–म्याङलुङ सडककै यात्रा गर्ने हो भने पनि देशभरका ग्रामीण सडकको अवस्था थाहा हुन्छ ।

२६ किलोमिटर लामो यो सडक करोडौं रुपैयाँ खर्चेर पाँचपटक कालोपत्रे भइसक्यो । तर, हरेकपटक एक वर्ष बित्न नपाउँदै भत्किएर हिलाम्मे हुने गरेको छ ।

वि.सं. २०६७ मा पहिलोपटक कालोपत्रे गरिएको यो सडक ठेकेदारको लापरबाही र अनुगमन गर्ने निकायको बेवास्ताका कारण अहिले पनि हिलाम्य नै छ ।

सडक बिग्रिएका कारण कतिपटक दुर्घटना भइसकेको छ भने सवारी–साधन बीचबाटोमै अड्किएर यात्रीको बिचल्ली हुने गरेको छ ।

ठेकापट्टामा मिलेमतो हुँदा देशभरका ग्रामीण सडकको अवस्था यस्तै छ । मध्यपहाडी लोकमार्ग होस् वा ग्रामीण सडक अथवा तराईका ग्रामीण सडक नै किन नहुन्, सबै उस्तै छन् ।

प्रदेश नम्बर–२ का सर्लाही, महोत्तरी, धनुषासहितका ग्रामीण सडकहरु हिलाम्य छन् ।

गन्डकी प्रदेशका लम्जुङ–मनाङ सडकखन्ड, म्याग्दी–जोमसोम सडकखन्डको अवस्था पनि उस्तै छ ।

कर्णाली प्रदेशका दुर्गम जिल्ला रुकुम, रोल्पा, जाजरकोट, दैलेखका ग्रामीण सडकहरुको त झन् लेखाजोखै छैन ।

देशकै सुगम भनिएको पूर्व–पश्चिम राजमार्गको विभिन्न स्थान अहिले पनि पहिरोको उच्च जोखिममा छ ।

बुटवल–पाल्पा सडकखन्डको सिद्धबाबाको अवस्था उस्तै छ ।

बीपी राजमार्ग, सिद्धिचरण राजमार्गलगायत देशभरका धेरै राजमार्गको अधिकांश स्थान पहिरोको उच्च जोखिममा छन् ।

दसैं सुरु भएसँगै यात्री र सवारी चाप बढ्दा यस्ता कमसल राजमार्गमा दुर्घटनाको जोखिम झन् बढ्ने गर्दछ ।