Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


अब कहिले सुरु हुन्छ खोप कार्यक्रम ?, प्रवक्ता गौतमको हलुका जवाफ


0
Shares

प्रज्ञा तिमल्सिना
काठमाडौं । ५५ वर्ष माथिका व्यक्तिमा खोप लगाउने अभियानको उद्घोष गरेको सरकारले पहिलो कार्यक्रममा ६५ वर्ष माथिका व्यक्तिलाई मात्र खोप लगायो । त्यसपछि चैत्र ४ बाट ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिलाई खोप लगाउने सूचना निकालेको थियो ।

तर, दोस्रो कार्यक्रम सुरु गर्ने अघिल्लो दिन खोपको अभाव देखाउँदै कार्यक्रम नै स्थगित गरियो । त्यसको सूचनासमेत स्वास्थ्य मन्त्रालयले लुकाउन खोज्यो । खोप कार्यक्रम अब कहिले सुरु हुन्छ भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एकदमै हलुका जवाफ दिनुभयो ।

‘पहिलो डोज खोप लगाएकाहरूलाई दोस्रो डोज बैशाखको ७ देखि ११ गतेसम्म लगाउछौं,’ उहाँले भन्नुभयो, ‘अन्यलाई खोप प्राप्त भएपछि लगाउछौं ।’ विश्वका ९० भन्दा बढी देशमा खोप कार्यक्रम नै सुरु नभएको अवस्थामा नेपालका १७ लाख मानिसले खोप लगाउन पाउनु भाग्यमानी भएको बताउनुभयो ।

भारतको सेरम इन्टिच्युटसँग खरिद गरिएको २० लाख डोजमध्ये १० लाख खोप मात्र नेपालले पाएको छ । अग्रिम भुक्तानी गरिएको १० लाख डोज खोप सेरमले अब कहिले पठाउँछ भन्ने टुङ्गो छैन । विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रममार्फत दिने भनेको १ करोड ३२ लाख डोज खोपमध्ये नेपालले ३ लाख ४८ लाख डोज मात्र प्राप्त गरेको छ । कोभ्याक्स कार्यक्रमले आगामी बैशाख १८ पछि १९ लाख डोज खोप पठाउने मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म झन्डै १७ लाख व्यक्तिले खोप लगाएका छन् । नेपालले अनुदान र खरिद गरि कुल २३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । तर खोप लिएर आउन निजी क्षेत्रलाई गरिएको आह्वान गर्दा एउटा पनि आवेदन परेन । यस्तै चीन सरकारको सहयोगमा नेपाल आउने भनिएको ८ लाख डोज खोप लिन यही १५ गते नेपाल एयरलाइन्सको विमान चीन पठाइने भएको छ ।