
विवेक खड्का (इमेज)
दाङ, असोज ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले वर्तमान सरकारको विकल्प नखोजेको बताएका छन् ।
नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले सरकारको विकल्प नखोजेको तर सरकारलाई सही मार्गमा डोर्याउनुपर्ने आवश्यकता रहेको औंल्याए ।
सरकार बरालिँदै गएको भन्दै उनले कांग्रेसले सच्याउनमात्र खोजेको उल्लेख गरे ।
नागरिकका समस्या सम्बोधन गर्न सरकार असक्षम भएको आरोपसमेत उनले लगाए । सरकारका कारण नागरिकमा चरम निराशा उत्पन्न भएको उनको भनाइ छ ।
हरेक परिवर्तनमा नेपाली कांग्रेसले अगुवाइ गरेको स्मरण गर्दै नेता पौडेलले कांग्रेसलेमात्रै नागरिकका मुद्दा हल गर्ने जिकिर गरे ।
कांग्रेसको जागरण अभियानले कार्यकर्ताको मन जोड्न सफल भएको दाबी पनि उनले गरे । त्यसक्रममा तराईमा भएका छिटपुट घटनालाई उनले ‘सामान्य’ भने ।
उनले आफू मंसिरमा हुने उपनिर्वाचनमा भाग नलिने भन्दै पार्टी बलियो बनाउनमात्रै आफ्नो ध्यानकेन्द्रित रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्