२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


काँग्रेसको दोस्रो चरणको अभियान पनि ‘कर्मकाण्डी’ मात्र !


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले दोस्रो चरणको जागरण अभियान पनि सम्पन्न गरेको छ ।

सरकारका गलत क्रियाकलावको भण्डाफोर गर्ने भन्दै थालिएको अभियानमा पनि गुटको गन्ध देखिएपछि शीर्ष नेताहरु नै एक नभएसम्म तल्लो तहका कार्यकर्तामा उर्जा नथपिने प्रष्ट भएको छ ।

प्रदेश तहसम्म नै केन्द्रीय प्रतिनिधि खटाएर दुई हप्ते जागरण अभियान गरेको नेपाली काँग्रेसले सरकारविरुद्ध तल्लो तहसम्म आफ्ना कुरा लान अभियान नै सञ्चालन गर्‍यो ।

केही हदसम्म महंगी, भ्रष्टचार, असुरक्षालगायतका विषयमा जनतालाई जानकारी पनि गरायो । काँग्रेसका स्थानीय नेताहरु पनि सरकारका गलत क्रियाकलापविरुद्धको अभियान सफल भएको तर्क गरिरहेको छन् ।

सरकारका गलत क्रियाकलापविरुद्धको अभियान सफल भएको भनिए पनि जागरणको प्रमुख विषय संगठन सुदृढीकरणका हिसाबले भने अभियानले कार्यकर्ता तहमा खासै उत्साह थप्न सकेन ।

दोस्रो चरणको अभियानमा पुग्ने आफ्नै पार्टीका नेताहरुबीच पनि छेडखानी चल्यो । त्यो कुरा भने कार्यकर्तालाई पटक्कै चित्त बुझेको छैन । अझ गुटका कुरा त कता हो कता ?

अभियानको समापनको दिन मंगलबार सप्तरी र सिन्धुपाल्चोकलगायतका केही जिल्लामा गुट गुटले छुट्टा छुट्टै प्रदर्शन गरे ।

जसले सरकारका गलत क्रियाकलापविरुद्धको जागरण अभियानलाई सस्तो प्रचारबाजीजस्तो बनाइदियो ।

पार्टी एक ढिक्का भइ अनुशासनमा नबस्दासम्म यस्ता जागरणले जाँगर भर्न नसक्ने बताउँछन् कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरु ।

जनतामा काँग्रेस पुगेन भन्ने विषयलाई भने जागरणले चिरेको छ । सरकारलाई गाली गर्ने बहानामा मात्रै भए पनि जनताको घर दलैमा काँग्रेस कार्यकर्ता पुगेका छन् । जनतालाई नभए पनि तल्ला तहका कार्यकर्तालाई भने यसले केही न केही राहत दिएको छ ।

प्रतिपक्षी काँग्रेसबाट आम नागरीकले अहिले घर दैलो वा कुनै किसिमको अभियान मात्र खोजेका छैनन् ।

नेतृत्वमा सुधारिएको चरित्र, कार्यशैलीमा परिवर्तन र एजेण्डामा प्रष्टता चाहिरहेका छन् । तर, यी विषयमा प्रमुख प्रतिपक्षी दलको दोस्रो चरणको अभियान पनि मौन नै रहयो ।