२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


‘सहमति’ भाँड्ने त्यो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौंं, भदौ ३१ । यही भदौ २६ गते बाँकेको खजुरास्थित सीतापुरमा नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानकाक्रममा भएको आक्रमणको विरोधमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले लगातार संसद अवरुद्ध गरेको छ ।

सरकारले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्ति गरेपछि संसदको अवरोध हटाउन कांग्रेस तयार भएको थियो ।

तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसदहरुले आफ्ना कार्यकर्तामाथि मुद्दा लगाउन नपाइने अडान लिएपछि कांग्रेसले पुनः संसद अवरुद्ध गरेको हो ।

बाँके घटनाबारे कांग्रेसका सांसदहरुले सरकारको धारणा र दोषीमाथि कारबाहीको प्रतिबद्धता मागेका थिए ।

प्रतिपक्ष सांसदहरुको मागअनुसार गृहमन्त्री रामबहादुर थापाले आइतबार घटनाबारे सदनलाई जानकारी गराउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर, गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले आइतबार दुईपटक सदन अवरुद्ध गरे ।

सोही दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका शीर्ष नेताहरुबीच बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही दिन अबेर प्रहरीले घटनामा संलग्न भएकाहरुको किटानी जाहेरी दर्ता ग¥यो । त्यसअघि प्रहरीले किटानी जाहेरी लिन मानेको थिएन ।

प्रधानमन्त्रीसहित गृह प्रशासनको प्रतिबद्धता र प्रहरीले किटानी जाहेरी लिएपछि कांग्रेस सोमबारको सदन सुचारु गर्न सहमत भएको थियो ।

तर, नेकपाका सांसदहरुले घटनामा संलग्न रहेको भनिएका खजुरा गाउँपालिका–१ का नेकपाका तर्फबाट निर्वाचित वडाध्यक्ष सुमन मल्लविरुद्धको किटानी जाहेरीप्रति आपत्ति जनाए ।

नेकपा सांसद नन्दलाल रोका क्षेत्रीले आफ्नो पार्टीका निर्वाचित वडाध्यक्ष मल्लमाथि मुद्दा चलाउन नपाइने भन्दै कांग्रेस सांसदहरुको प्रतिवाद गरे ।

त्यसपछि नेकपा सांसदको अभिव्यक्तिप्रति आक्रोशित हुँदै कांग्रेसका सांसद फेरि विरोधमा उत्रिए ।

कांग्रेस सांसदको विरोधकैबीच नेकपा सांसद रोकाले घटनामा कांग्रेसकै कार्यकर्ता जिम्मेवार रहेको आरोप लगाएपछि सदनको वातावरण तनावपूर्ण बन्यो ।

बाँके घटनालाई लिएर वडाध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएपछि कांग्रेस संसद सन्चालन गर्न सहमत भएको थियो ।

कांग्रेसले दोषीमाथि कारबाहीको प्रतिबद्धता सरकारबाट मागिरहेको बेला सरकारको प्रतिबद्धताविपरीत सत्तारुढ दलकै सांसदको अभिव्यक्ति, घटनाबारे प्रस्तुत फरक दाबी र आफ्ना कार्यकर्तामाथि कारबाही भए आन्दोलनमा उत्रिने नेकपा सांसदको चेतावनीले एकाएक सहमति भाँडियो ।

यस्तो अभिव्यक्तिबाट चिढिएका कांग्रेस सांसदहरुले सभामुख कृष्णबहादुर महरासँग बोल्न समय मागे ।

तर, सभामुखले समय नदिएपछि थप आक्रोशित बनेका कांग्रेस सांसदहरु ‘बेल’ घेराउ गरी नाराबाजीमा उत्रिए ।

अन्ततः सत्तारुढ दलका सांसदको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र सभामुखले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा वातावरण बनिसकेको अवस्थामा पनि सदनको अवरोध हट्न सकेन ।

भिडियो हेर्नुहोस्