
सन्दीप पौड्याल (इमेज)
काठमाडौं, भदौ २५ । प्रदेश नम्बर–५ ले प्रदेश सरकार स्थापना भएपछि धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै तथ्यहरु सार्वजनिक गरेको छ ।
पञ्चवर्षीय योजनादेखि स्थानीय तहमा विकासका कामहरु गरेको दाबी प्रदेश सरकारको छ । केन्द्रिकृत मानसिकतामात्र समस्या भएको प्रदेशको ठहर छ ।
प्रदेशको नाम राख्न नसकेको, स्रोत–साधन र अधिकारको अधिकतम् प्रयोगभन्दा संघले काम गर्न नदिएको भन्दै पन्छिने गरेको आरोप प्रदेशहरुलाई लाग्दै आएको छ ।
तर, यहीबीचमा पनि केही प्रदेशहरुले भने अधिकतम् उपलब्धि हासिल गरेको दाबी गरेका छन् ।
प्रदेश–५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो उपलब्धिमा पञ्चवर्षीय प्रथम आवधिक योजनाको विस्तृत दस्तावेज तयार पारेको दाबी गरेका छन् ।
यस्तै, प्रदेशको कुल ग्रार्हस्थ उत्पादन, कर्मचारी समायोजन, विभिन्न ऐनहरु जारी, उद्योग सन्चालन गरी रोजगारीको सिर्जनालगायत पनि उपलब्धिकारुपमा छन् ।
देशको समग्र आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुँदा प्रदेश–५ कोमात्रै ७.७ प्रतिशत रहेको र कुनै अवरोध नभए कार्यकालभरिमा वृद्धि दोहोरो अंकमा पुर्याउने दाबी उनले गरे ।
मुख्यमन्त्री पोखरेलले चीनको सिचुवान प्रान्तसँग भगिनी सम्बन्ध विस्तार भएको र गान्सु प्रान्तसँग सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारको प्रक्रियामा रहेको विषयलाईसमेत उपलब्धिकारुपमा प्रस्तुत गरेका छन् ।
प्रदेश सरकारको ‘एक गाउँ एक पोखरी’ कार्यक्रम भने निकै लोकप्रिय भएको छ । जसअन्तर्गत् हालसम्म ५२ हजार घनमिटर क्षमताका ११६ ओटा पोखरी निर्माण भइसकेका छन् ।
यस्तै, पर्यटन पूर्वाधारतर्फ २५ ओटा आयोजनाहरुको पूर्वाधार निर्माण सम्पन्न गरिएको छ । जसमा १२ ओटा आयोजनाहरुको गुरुयोजना तथा ‘डीपीआर’ तयार नै भइसकेको जनाइएको छ ।
यीबाहेक प्रदेशमा कुल ११६ किलोमिटर सडकको नयाँ ‘ट्रयाक’ खोलिएको छ भने ५१५ किलोमिटर सडक चौडा पारिएको छ ।
यस्तै, जनता आवास कार्यक्रममार्फत् एक हजार ८२६ ओटा घर निर्माण गरिएको छ ।
खेलकुदलाई प्रोत्साहन गर्दै जिल्लामा दुईओटा रंगशाला निर्माण भइरहेका छन् ।
३५ बुँदे उपलब्धिहरु सार्वजनिक गरिरहँदा र भविश्यका लागि आशावादी हुँदाहुँदै पनि मुख्यमन्त्री पोखरेलले संघीय सरकारले सहयोग नगरेको गुनासो भने गरेका छन् ।
संघीयता कार्यान्वयनका सन्दर्भमा सुरुमा अधिकार तल जाने भन्नेमा सबैको साथ, सहयोग रहे पनि पछि तलका निकायहरुलाई स्थापित गर्ने सन्दर्भमा चाहिँ राष्ट्रिय बहस कम भएको उनको भनाइ छ ।
उनले प्रदेशमा भइरहेका काम–कारबाहीमा सकारात्मक कुराहरुभन्दा पनि गुनासो, आलोचना र टिप्पणीका विषय ज्यादा आएको बताए ।
संघीयता कार्यान्वयनको सन्दर्भमा काठमाडौंकेन्द्रित पुरातन मानसिकता छिचोल्न मनोवैज्ञानिकरुपमा सबैभन्दा जटिल भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्