२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता सुरु


0
Shares

काठमाडौं, भदौ २३ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमन्डलस्तरीय वार्ता सोमबार राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौंमा भएको हो ।

आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचार–विमर्श हुनेछ ।

सो वार्तामा दुई देशबीच विगतमा भएका सन्धि–सम्झौता तथा नेपालमा सन्चालित विकास निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइनेछ ।

नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयका साथै द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका मामिलामा पनि गहन छलफल हुनेछ ।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौता तथा नेपालको व्यापार विविधीकरण, व्यापारघाटा घटाउन चिनियाँ सहयोगलगायत विषयमा पनि छलफल हुनेछ ।

परराष्ट्रसचिव शंकरदास वैरागीकाअनुसार वार्तापछि मनाङमा चिनियाँ सहयोगमा अस्पताल निर्माण, भूकम्पपीडितलाई पाँच हजारथान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयंसेवकहरूले नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनओटा बेग्ला–बेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव वैरागी, अर्थसचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी छन् ।

चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेशसचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआइसीडीए)का उपाध्यक्ष, विदेश मन्त्रालयको एसिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी छन् । रासस