१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


‘हेल्प नेपाल नेटवर्क’ले अस्ट्रेलियामा पनि मनायो २०औं स्थापना दिवस


0
Shares

काठमाडौं, भदौ २२ । परोपकारी काममा बिगत दुई दशकदेखि निरन्तर क्रियाशील रहँदै आएको सामाजिक संस्था ‘हेल्प नेपाल नेटवर्क’ले आफ्नो स्थापनाको २०औं वर्ष अस्ट्रेलियामा भव्यताका साथ मनाएको छ । 

हेल्प नेपाल नेटवर्कले नेपालमा भने आगामी अक्टोवर १२ तारिखका दिन  संस्थाको २०औं वार्षिकोत्सब मनाउने तयारी गरिरहेको छ । २०औं वर्षको कार्यक्रमलाई निरन्तरता दिँदै हेल्प नेपाल नेटवर्कको अस्ट्रेलिया शाखाले अस्ट्रेलियाको सिडनी, मेलवर्न र राजधानी क्यानबेरामा विशेष कार्यक्रम आयोजना गरेको हो ।

अगस्ट १७ तारिखका दिन सिडनीमा आयोजित कार्यक्रममा साउथवेल्सका बहुसांस्कृतिक राज्यमन्त्री जोन सिदोतीको प्रमुख आतिथ्यमा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा हेल्प नेपालले धुलिखेलमा सञ्चालन गर्दै आएको बालिकाहरूको आश्रयस्थल बालगृहमा इ–लाइब्रेरीको व्यवस्थापनका लागि हेल्प नेपाल, अस्ट्रेलिया शाखाले ५ हजार डलर प्रदान गरेको थियो । सोही कार्यक्रममा दोलखामा निर्माणाधीन राजकुलेश्वर स्कूलका लागि १० देखि १५ हजार डलरसम्म प्रदान गरिने हेल्प नेपाल नेटवर्कको अस्ट्रेलिया शाखाका संयोजक हर्ष गौतमले जानकारी दिए ।

सिडनीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि जोन सिदोती, कार्यक्रमका लागि सिडनी पुगेका नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेत, हेल्प नेपाल, अस्ट्रेलियाका संयोजक हर्ष गौतम, डा. राजु अधिकारी, इन्द्रा वनलगायतले आफ्ना धारणा राखेका थिए ।

यसैगरी अगस्ट २१ तारिखका दिन मेलवर्नमा आयोजना गरिएको २०औं वर्षको विशेष कार्यक्रममा अस्ट्रेलियामा बसोबास गर्दै नेपालका लागि सहयोगी हात बढाउने व्यक्तित्वहरूले हेल्प नेपाल नेटवर्कको काममा विशेष योगदान पुर्‍याउने उल्लेख गरेका थिए । 

सो अवसरमा ‘हाम्रो नेपाली पाठशाला’को दोस्रो र तेस्रो जेनरेसनका  विद्याथीहरूले पनि भाग लिएका थिए । तिनलाई हेल्प नेपालको परियोजना कार्यक्रम सम्वन्धी भिडियो देखाइएको थियो ।

हेल्प नेपाल संस्थापक अध्यक्ष डा. राजु अधिकारी, मेलवर्नका परियोजना संयोजक श्री पन्त, सदस्यहरू जोग लिम्बु, रञ्जन कोइराला, दिवाकर बस्नेत, बन्दना कोइराला, नीरा बस्नेत,  डा. लक्ष्मीनाथ अधिकारी, मधु पोखरेल, भुपाल केसीले आफ्ना विचार राखेका थिए ।

अस्टे«लियाको राजधानी क्यानबेरामा अगस्ट २५ तारिखका दिन स्थानीय अग्रज सदस्यहरू कृष्ण हमाल, प्रेमजङ्ग थापा, डीडी कँडेलको सक्रियतामा नेपाली राजदूतावासमा विशेष कार्यक्रम सम्पन्न गर्दै हेल्प नेपाल नेटवर्कका विषयमा वृहत छलफल भएको थियो । 

सो अन्तरक्रियात्मक कार्यक्रममा अस्ट्रेलियाका कार्यवाहक राजदूत दु्रपदा सापकोटाको विशेष उपस्थिति थियो । कार्यक्रममा हेल्प नेपालका अस्ट्रेलिया संयोजक हर्ष गौतमले संस्थाको उद्देश्यबारे बताएका थिए । 

१० करोड अक्षय कोष अभियानका अष्ट्रेलिया संयोजक दिला खरेलले हालसम्म उठेको हेल्प नेपालको ६ करोडको अक्षय कोषमा रकम वृद्धि गर्ने अभियानलाई तीव्रता दिँदै १० करोडको अक्षय कोष बनाउने दृढता व्यक्त गरेका थिए । उनले सबैसँग यस सामाजिक कार्यमा सहयोग गर्न आग्रह पनि गरेका थिए ।

सो छलफल कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ अध्यक्ष अरुणसिंह बस्नेत, इन्द्रा बन र लक्ष्मण शर्माले दिएका थिए । 

अस्ट्रेलियका विभिन्न महानगरमा सम्पन्न कार्यक्रममा हेल्प नेपालले गरेका कामहरूलाई समेटेर तयार पारेको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । 

यस पटक अस्ट्रेलियामा आयोजित २०औं वार्षिकोत्सव कार्यक्रमले महिनाको एक डलर सहयोग गर्ने अभियानलाई अझै व्यापकरुपमा अगाडि बढाउने र हाल ६ करोड रुपैयाँ रहेको अक्षय कोषलाई १० करोडा पुर्‍याउन विशेष कार्य गर्ने निष्कर्ष निकालेको छ ।

२० वर्ष अघि सन् १९९९मा स्थापित हेल्प नेपालले शिक्षा, स्वास्थ्य तथा दैवी विपद्का बखत सहयोग गर्दै आएको छ । विदेशमा बस्दै आएका 

नेपालीहरूले नेपालका लागि थोरै मात्र भए पनि सहयोग गर्नसके नेपालमा धेरै सहयोग पुग्ने हेतुले नै यो संस्था स्थापना गरिएको बताइन्छ । 

प्रारम्भमा हेल्प नेपाल नेटवर्कले विदेशबाट सहयोग स्वरूप आएको ६२ हजार र काठमाडौंका परोपकारी मन भएकाहरूबाट उठेको ५ हजार रुपैयाँबाट डोल्पाको एक विद्यालयलाई सहयोग गर्दै यो संस्थाको काम शुरु गरेको थियो । 

परोपकारका क्षेत्रमा बितेको दुई दशकदेखि सक्रिय हेल्प नेपाल नेटवर्कले दर्जनौ विद्यालयहरूको भवन निर्माण तथा मर्मतमा सहयोग गरिरहेको छ भने मुगु, सर्लाही र अछाममा स्वास्थ्य चौकी सञ्चालनमा सहयोग पनि गर्दै आएको छ । 

भूकम्प, बाढी, पहिरोजस्ता प्राकृत्तिक विपद्का बेला तत्कालै सहयोगमा जुट्दै आएको हेल्प नेपालले मुलुकका दर्जनौ विद्यालयहरूमा इ–लाइब्रेरीको परिकल्पनालाई मूर्तरुप दिँदै पुस्तकालय स्थापना गर्दै आएको छ ।

हेल्प नेपाल नेटवर्कमा स्वयमसेवकहरू स्वतःस्फूर्तरुपमा समाजसेवामा क्रियाशील रहँदै आएका छन् । हेल्प नेपालमा सहयोगका लागि दिइएको सबै रकम सहयोगमा नै खर्च गरिने बताइएको छ ।