-डीबी विष्ट/ईमेज
वझाङ । केही समय अघिसम्म टिनको टहरामा बस्दै आएका बझाङको चैनपुरका वादी समुदायले पक्की घरमा बस्न पाएसँगै खुसी भएका छन् ।
जनता आवास कार्यक्रम र वडाध्यक्षको लगानीमा पक्की घर निर्माण गरिदिएपछि उनीहरुमा खुसीयाली छाएको हो ।
वर्षौँदेखि पानी पनि नओत्ने टिनका टहरामा बसेर गुजारा चलाइरहेका वादी समुदाय पिल्लरसहितको पक्की घरमा बस्न थालेका छन् ।
आवास निर्माणको लागि जनता आवास निर्माण कार्यक्रमबाट १८ लाख ३६ हजार रुपैयाँ प्राप्त भएको थियो भने जयपृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले व्यक्तिगत रुपमा १३ लाख ३२ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
पक्की घरमा बस्न पाइएला भन्ने कल्पनासम्म नगरेका वादी समुदायले त्यो पाएपछि दंग भएका छन् ।
परिवारका सबै सदस्य कोचाकोच गरी सानो झुपडीमा बस्नुपर्ने त्यसमाथि वर्षाकालमा पर्ने पानी चुहिँदा समस्या भइरहेको थियो ।
पक्की घरमा बस्न थालेकी स्थानीय राधा वादी वडाध्यक्ष विष्टले आफूहरुलाई आमावुवाले भन्दा बढी सहयोग गर्ने गरेको बताउँछिन् ।
घरसगै शौचालय र खानेपानीको समेत राम्रो व्यवस्था गरिएको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र वडाध्यक्ष विष्टको पहलमा खानेपानी पु¥याइएको हो ।
सेती नदीको दिशापिसाब र अन्य फोहोर मिसिएको पानी पिउनुपर्ने बाध्यता थियो ।
वडा अध्यक्ष विष्टले बादी समुदायका १२ परिवारका लागि खटीया,टेबुल, ग्यास, कार्पेट, खाद्यान्न लत्ताकपडालगायतमा सहयोग गरेका छन् ।
यो भन्दा पहिला समेत विष्टले आफूहरुलाइ विभिन्न सहयोग गर्दै आएको उनीहरु बताउँछन ।
आफू पनि विपन्न परिवारमा जन्मेर संघर्ष गरेकाले त्यो मर्म र वेदनालाई बुझेर आफू सदैव समाजसेवामै तल्लीन हुने वडाध्यक्ष दलबहादुर विष्टको भनाइ छ ।
व्यक्तिगत लगानीबाट राम्रै घर निर्माण गरी वडा अध्यक्ष विष्टले उत्कृष्ट काम गरेकोे भन्दै वादी समुदायले पनि आगामी दिनमा आचरण पनि सुधार गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर सार्कीको सुझाव छ ।
१६ परिवार रहेको बादी समुदायमा ८ परिवारकाको लागि घर निर्माण भइसकेको छ भने बाँकीका लागि बन्न बाँकी छ ।
वडाध्यक्षको सराहनीय कामप्रति सबैले हातेमालो गर्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्