जयराम बास्तोला (इमेज)
भक्तपुर, भदौ २० । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुईतिहाइको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।
शुक्रबारदेखि भक्तपुरको बोडेमा सुरु कांग्रेसको प्रदेश नम्बर–३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमासमेत हस्तक्षेप गर्न थालेको आरोप लगाए ।
सरकारले संविधान मिच्दै जनताका हक, अधिकार कुन्ठित गर्दै गए कांग्रेस सडकमा जाने उनको भनाइ थियो ।
उनले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
आउँदो मंसिरमा हुने उपनिर्वाचन जसरी पनि जित्नुपर्ने भन्दै सभापति देउवाले पार्टीमा एकले अर्कालाई हराउने रोगको अन्त्य हुनुपर्नेमा जोड दिए । अन्तरघातीलाई पार्टीले कारबाही गर्ने उनले उल्लेख गरे ।
लोकतन्त्रमाथिको सरकारको हस्तक्षेप अस्वीकार्य : पौडेल
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको सरकारको हस्तक्षेप अस्वीकार्य रहेको बताए ।
उनले व्यक्तिवादी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर कांग्रेसलाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतले राज्यका सबै निकायलाई कब्जा गर्ने सरकारको कदममा खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रशिक्षणमा प्रदेश–३ का १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापसहित ७ जिल्लाका २८१ महाधिवेशन प्रतिनिधि सहभागी छन् ।
बाँकी ६ जिल्लाका महाधिवेशन प्रतिनिधिका लागि पछि मकवानपुरमा प्रशिक्षण दिइने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्