
काठमाडौं, भदौ १५ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजले नेपाली घर आगन छपक्कै छोपेको छ । दर खाने, नाच्ने, गाउने गरी हिन्दु नारीहरु तीजको रमाइलोमा व्यस्त छन् ।
हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाऊँ भनि निराहार व्रत बसेर शिवजी प्रशन्न भइ फल प्राप्त गरेको दिनको स्मरणमा हिन्दु नारीहरुले हरितालिका तीज मनाउने गराउने विश्वास गरिन्छ । विवाहिता महिलाहरुले पतिको दीर्घायुको कामना र अविवाहिताले सुयोग्य वर प्राप्त होस् भन्ने कामनामा तीजको व्रत बस्ने गर्छन् ।
भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म चार दिन मनाईने तीजको मुख्य दिनको एक दिन अघि दर खाने प्रचलन छ । यस दिन मध्यरातका मीठा मीठा परिकार बनाई दर खाने र भोलिपल्ट निराहर व्रत बसी तीज मनाउने प्रचलन छ ।
भगवान शिवको आराधना गरिनुका साथै नाचगान पनि तीजको मुख्य आकर्षणका रुपमा लिइन्छ ।
केही वर्षयता तीजको भड्किलो र खर्चिलो बन्दै गयो भन्ने आमगुनासो सुनिदैँ आएकोमा यसवर्ष भने तुलनात्मक रुपम यसमा केही कमी आएको व्यापारीहरु बताउँछन् । तर तीजका लागि चाहिने आवश्यक सामग्रीहरुको व्यापार भने राम्रै रहेको उनीहरुको भनाइ छ ।
विशेषगरी रातो साडी, चूरा, पोते र श्रृंगारका विभिन्न सामग्री किन्न पसलहरुमा महिलाको भीड देखिन्थ्यो । साडी होस् या चुरा पोते पसल जताततै महिलाकै भीड छ । तीज नेपाली मौलिक संस्कृति र परम्पराको उदारहण हो । यो पर्वलाई अनावश्यक तडकभडक र देखासिखी गरी मनाउनुभन्दा मौलिकतालाई कायम राख्दै रमाइलो गरी मनाऔं ।
प्रतिक्रिया दिनुहोस्