Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


‘वान शो एसिया’का लागि नेपालबाट पहिलो पटक दुईवटा सिर्जना छनोट


0
Shares

काठमाडौं । पहिलो पटक ‘वान शो एसिया’का लागि नेपालबाट दुईवटा सिर्जना छनोट भएको छ । एशिया प्यासिफिकका उत्कृष्ट सिर्जनाहरू विश्व सामू प्रदर्शित गरिने कार्यक्रममा नेपालबाट बेसिक ह्युम्यानिटी र टुगेदर अहेड नामक २ वटा प्रचार अभियानहरू छनोट भएको हो ।

एशिया प्यासिफिक क्षेत्रबाट १७ देशका ५९ शहरहरूबाट बुझाइएका २ हजार ६ सयभन्दा बढी अभियानहरू मध्येबाट नेपालबाट दुईवटा चयन भएको हो । छानिएका अभियानहरूले एशिया प्यासिफिक क्रियटिम इन्डस्ट्रीमा उत्कृष्ट कामको प्रतिनिधित्व गर्ने विज्ञापन एजेन्सी आउटरिच नेपालका व्यवस्थापन निर्देशक उजय शाक्यले जानकारी दिनुभयो ।

दुई सिर्जना छनोट भएको सार्वजनिक गर्ने कार्यक्रमा बोल्दै नेपाल विज्ञापन एजेन्सी संघ (आन) का अध्यक्ष सोम प्रसाद धितालले वान शो एसियामा नेपालको प्रतिनिधित्व भएको देख्दा खुसी भएको बताउँदै नेपाली सिर्जनशीलताका जोशहरुलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

टुगेदर अहेडको प्रचार अभियानका हिस्सासमेत रहनुभएका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नेपाललाई गौरवान्वीत बनाउने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फोरमको हिस्सा हुने अवसर प्राप्त भएकोमा आभार व्यक्त गर्नुभयो । नबिल बैंकले दशैं र तिहारको लागि बनाएको टिभीसीले धेरै नेपालीको मन छोएको थियो ।

नेपाल विज्ञापन एजेन्सी संघ (आन) का निवर्तमान अध्यक्ष रविन्द्रकुमार रिजालले नेपालको दुई वटा सिर्जना छनोट हुनुले देशका विज्ञापनदाता र एजेन्सीहरू दुवैलाई नयाँ सोच तथा रचनात्मक नवीन अभियानहरूको थालनी गर्न प्रेरणाको रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आउटरिच नेपालले देशभित्र र बाहिर दुवै स्थानमा नेपाली विज्ञापनको प्रारुप विस्तार गर्ने दिशामा निरन्तर कार्य गर्दै आइरहेको छ । बेसिक ह्युम्यानिटी अभियान, कोभिडको समयमा सिर्जना गरिएको एक अत्यन्त सफल अभियान भएको आउटरिचका व्यवस्थापन निर्देशक शाक्यले बताउनुभयो । यो अभियान ६ देशका ८ वटा भाषाहरूमा अनुवाद गरिएको थियो साथै यस अभियानले २०२० डिसेम्बरमा साँघाईमा आयोजित ईसीआई अवार्डसमेत प्राप्त गरेको थियो ।