
–जिल्ला प्रशासन कार्यालय रुपन्देहीले साउन २१ गते एक विज्ञप्ती निकाल्दै तीजको दर खाने नाममा अहिलेदेखि नै होटल र पार्टी प्यालेस बुकिङ गर्न सुरु गरिसकेको जानकारीमा आएको भन्दै होटल रेष्टुरेण्टमा दर खाने, महंगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनी प्रदुषण हुने कार्य नगर्न निर्देशन दियो ।
–महिला नै सिडिओ भएको पर्वतमा रवाफिलो शैलीमा तीजको दर खाने शैलीको विकास हुँदै गएको प्रचलन रोक्न प्रमुख जिल्ला अधिकारी(सिडिओ) कल्पना घिमिरे नेपालले भडकिलो हुने गरी तीज पर्व मनाएमा कारबाही गर्ने चेतावनीसहित साउन दोस्रो साता विज्ञप्ती जारी गरिन् ।
–जिल्ला प्रशासन कार्यालय कास्कीले पनि एक विज्ञप्ति जारी गर्दै तडकभडक रुपमा नभइ सामान्य रुपमा तीज मनाउन आग्रह गरिसकेको छ । महिनौदेखि नभइ निश्चित समयमा मात्रै तीज मनाउन प्रशासनको आग्रह छ ।
संघारमा रहेको तीज पर्व मनाउने तौरतरिकामा फेरबदल आउन थालेपछि देशभरका प्रशासन कार्यालयहरुले यही किसिमका विज्ञप्तीहरु जारी गर्दै सचेत गराइरहेको छ । तीजमा तडकभडक नगर्न तथा पार्टी प्यालेस, होटलमा तीज नमनाउन र गहना प्रदर्शन नगर्न भन्दै सार्वजनिक सूचना जारी गरेपछि व्यवसायी मात्र होइन महिला अधिकारकर्मीहरुले यसको विरोध गरिरहेका छन् ।
व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गरेको भन्दै विश्व हिन्दु महासंघ गण्डकी प्रदेशले पत्रकार सम्मेलन नै गरेर आपत्ति जनाएको छ । महासंघ कास्कीका सचिव कमल पौडेलले सरल तरिकाले दिदीबहिनीहरु रमाइलो गर्दा प्रशासनले गिद्दे नजर लगाएको र समाजमा त्रास फैलिएको आरोप लगाए ।
प्रशासनको यस्तो कदमको सामाजिक संजालमा पनि विरोध भइरहेको छ । देखासिखी नभइ स्वतन्त्र र आफ्नो विवेकका आधारमा पर्व मनाउनुपर्नेमा अधिकारकर्मीहरुको भनाइ छ । व्यक्तिगत स्वतन्त्रतामा बन्देज लगाएर होइन आफ्नै हैसियतले चाडपर्व मनाउँदा कसैलाई हानी गर्दैन भन्नेमा धेरैले एकमत देखाएका छन् ।
तर हिजोआज आधुनिक र बजारिया जीवनशैलीका कारण रेष्टुरेन्ट र पार्टी प्यालेसमा भेला भएर दर खाने चलन बढ्दै गइरहेको छ । महिलाहरु आर्थिक रुपमा सबल बन्दै गएपछि स्वतन्त्रता महशुस गर्दै खर्च गर्न सक्षम बन्दै गएकाले तीजलाई खर्चिलो भन्न नमिल्ने अधिकारकर्मी भूमिका श्रेष्ठको दावी छ । उनी भन्छिन्, ‘महिलाहरुमा आएको सामाजिक र आर्थिक परिवर्तन आइसकेको छ, अब उनीहरुले आफ्नो हैसियतले खर्च गर्न नपाउने भन्ने कहाँ छ र ?’ तर मौलिक संस्कृतिलाई जोगाइराख्नु सबैको दायित्व भएको उनको भनाइ छ ।
यता होटल, रेष्टुरेन्ट, क्याटरिङ, पार्टी प्यालेस संचालकहरु प्रशासनले गरेको कडाइले व्यवसाय धरापमा परेको गुनासो गरेका छन् । व्यवसाय गर्न पाउने अधिकार कुण्ठित भएको भन्दै उनीहरुले निर्णय सच्याउन दबाब दिइरहेका छन् । कांग्रेसकी समानुपातिक सांसद रंगमती शाहीले संसदमा नै बोल्दै पार्टी प्यालेसमा तीज मनाउन लगाएको प्रतिबन्ध खारेज गर्नुपर्ने आवाज उठाइन । वर्षभरि कमाएको पैसाले महिलाले रमाइलो गर्न नपाउनु न्यायोचित नभएको उनको भनाई थियो ।
यद्यपी, जिल्लाका सिडियोहरुले मौलिक संस्कृतिमा आँच आउने तरिकाले तीजका कार्यक्रम नगर्न, चाडलाई भड्किलो र खर्चिलो नबनाउन, महिना दिन अघिदेखि नै दर खाने बाहनामा महंगा गरगहना प्रदर्शन गर्ने र होहल्ला गर्दा महिलाहरु आफैं असुरक्षित हुने बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्