Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर !


0
Shares

काठमाडौं । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । ‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौं जस्तो लागेको थियो’, बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘विद्यार्थीको प्राप्तांक रुजु गरेर सिस्टममा इन्ट्री गर्न धेरै समय लाग्यो, अब यो साताभित्रै नतिजा प्रकाशित गछौँ ।’

वैशाख जेठमा लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । स्नातक तहको शैक्षिक सत्र प्रभावित हुन नदिन संक्षिप्त परीक्षा लिएर १ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य थियो । बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

विद्यालयले नम्बर पठाउने क्रममा विद्यालयहरुले जथाभावी गरेको बोर्डका कर्मचारी बताउँछन् । पूर्णाङ्कभन्दा बढी नम्बर दिने र पूर्णाङ्क बराबर नै अंक दिइएको पाइएको रुजुमा संलग्न एक कर्मचारीले बताए ।

‘शतप्रतिशत पूर्णाङ्कलाई ४० प्रतिशत कायम गरिएको थियो, शिक्षकहरुले कुरा नबुझेर हो कि ३० पूर्णाङ्कको परीक्षामा ६० नम्बर दिएको पनि भेटियो’, उनले भने, ‘कतिपयले ३० नै दिएका छन् ।’

अंग्रेजी नेपालीलगायत भाषाका विषयमा पनि पूर्णाङ्क बराबर नै अंक दिएर पठाएपछि बोर्डले उतरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई बोलाएर त्रुटि सच्याउन लगाएको हो । कान्तिपुर