
बागलुङ, भदौ १२ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका स्थानीय नेता हरि कुँवरले जिल्ला प्रशासन कार्यालय बागलुङमा बिहीबार आत्मसमर्पण गरेका छन् ।
२६ दिनदेखि हिरासतमा रहेका कुँवरले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट, सशस्त्र प्रहरी वासुदेव पौडेल, नागरिक समाज, पत्रकारहरुको रोहवरमा आत्मसमर्पण गरेका हुन् ।
कुँवरलाई ढोरपाटनको एनसेल टावर आक्रमणलगत्तै संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रशासन कार्यालयमा कुँवरले अब स्वतन्त्र नागरिकको हैसियतमा रहने बताएका छन् ।
उनले चन्द नेतृत्वको नेकपा परित्याग गरेको बताउँदै अब चन्द समूहको कुनैपनि गतिविधिमा संलग्न नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ढोरपाटन नगरपालिका–१ स्थायी घर भएका कुँवरले बुर्तिबाङबजारमा फार्मेसी व्यवसाय गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्