बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ ९ । थरुहट थारुवान राष्ट्रिय सम्मेलन सोमबार सकिएको छ ।
टीकापुरमा तीन दिनसम्म चलेको सम्मेलनले ‘टीकापुर घटना’ बिर्सन ऊर्जा थपेको सहभागीहरुले बताएका छन् ।
कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट/थारुवान आन्दोलन भएको थियो ।
घटनाको चार वर्षपछि स्थानीयमा भने पुरानै साथ र सद्भाव भेटिएको छ ।
अहिले उत्सव तथा पर्वहरुमा पनि थारु र पहाडी समुदाय दुवैबीच एकता रहेको टीकापुर नगरपालिका वडा नम्बर–८ का लोकबहादुर बिष्टले बताए ।
टीकापुर घटनापछि चिस्सिएको थारु र पहाडी समुदायको सम्बन्ध क्रमिकरुपमा सुधार हुँदै आइरहेको छ ।
चार वर्षको अन्तरालमा अहिले पुरानै अवस्थामा सम्बन्ध फर्कन थालेको स्थानीयहरु बताउँछन् ।
अहिले दुवै समुदायमा मतभेद नरहेको स्थानीयको बुझाइ छ ।
थरुहट थरुवान राष्ट्रिय सम्मेलन आयोजना भएपछि थप सद्भाव बढ्ने व्यवसायी कालु हमालको बुझाइ छ ।
०७२ भदौ ७ गते भएको घटनाले उत्पन्न गरेको परिस्थितिलाई मथ्थर बनाउनका लागि टीकापुरमा शनिबारबाट थरुहट थरुवान राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा उपस्थित हुनेहरुलाई फूलको थुंगा लिएर आउन आह्वान गरिएको थियो । जसले गर्दा फूल आदान–प्रदान गरेर भावनात्मक एकता बढाउने अपेक्षा गरिएको छ ।
यस्ता क्रियाकलापले सम्बन्ध अझै मजबुत् बनाएको स्थानीय धीरज ठकुरीले बताए ।
०७२ साल भदौ ७ गते थरुहट/थारुवान आन्दोलनकाक्रममा टीकापुरमा हिंसात्मक झडप हुँदा ८ सुरक्षाकर्मी र एक बालकसहित ९ जनाको ज्यान गएको थियो ।
घटनामा दोषी ठहर भइ संघीय सांसदमा निर्वाचित रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय भएको छ ।
यसैगरी, ७ गतेको घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायको घर, व्यापारिक फर्म, सन्चारगृहलगायत जलाइएको थियो ।
टीकापुर घटनापछि टीकापुरमा थारु र पहाडी समुदायबीच कुनै न कुनैरुपमा दूरी बढेको छ । यही दूरी कम गर्न सम्मेलनको आयोजना गरिएको हो । सम्मेलन सोमबार सकिएको छ ।









प्रतिक्रिया दिनुहोस्