काठमाडौं, भदौ ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्कुल विभाग प्रमुख एवं कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको संस्थागत निर्णयलाई आधार मान्दै विभागको काम अघि बढाउने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा स्कुल विभागको कार्यभार सम्हाल्दै उनले दुई पार्टी एक भइसकेको अवस्थामा पार्टीको विचार महत्वपूर्ण हुने भएकाले विभागले वृहत् छलफल चलाउने बताए ।
उनले विचार, संगठन र नेतृत्वका विषयमा विभागले विशेष ध्यान दिने स्पस्ट पारे ।
नेता पोखरेलले पार्टीभित्र देखिएको दुईओटा ‘स्कुलिङ’लाई पनि समाहित गराएर अघि बढ्ने उल्लेख गरे ।
यसअघि, एमाले हुँदा स्कुल विभागको प्रमुख तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली र उपप्रमुख शंकर पोखरेल रहेका थिए ।
तत्कालीन प्रमुख प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेकाले तत्कालीन उपप्रमुख शंकर पोखरेलले विभागको नेतृत्व सचिवालय सदस्य पोखरेललाई शनिबार हस्तान्तरण गरेका हुन् ।
पार्टी एकीकरणपछि हालै स्कुल विभागको नेतृत्व पोखरेलले पाएका हुन् । उपप्रमुखमा देवेन्द्र पौडेल छन् ।
पोखरेल ‘जबज’को वकालतकर्ता भएको भन्दै तत्कालीन माओवादी केन्द्र पक्षले स्कुल विभागमा पोखरेलको नाम अस्वीकार गर्दा नेकपामा विभाग टुंगो लगाउन नै लामो समय लागेको थियो ।









प्रतिक्रिया दिनुहोस्