
काठमाडौं, भदौं ५ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे पहिलो पटक निजी चिकित्सकले जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर उडेलगत्तै उनको स्वास्थ्य अवस्थाबारे निजी चिकित्सक डा.दिव्या सिंहले प्रेस नोट जारी गरी जानकारी गराएकी हुन् ।
प्रेस नोटमा सिंहले प्रधानमन्त्री ओलीको सिंगापुरमा मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिने बताएकी छिन् ।
प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्काशन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन फेरि सिंगापुर जानुपरेको प्रेस नोटमा उल्लेख छ ।
डा सिंहले गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको र यसपटक पनि सोही अस्पतालमा नेपाली चिकित्सकका साथै त्यहाँका विज्ञको टोलीले स्वास्थ्य उपचार गर्ने जनाएकी छिन् ।
यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा उपचाररत अवस्था र स्वदेश फर्किएपछि पनि उनको स्वास्थ्य अबस्थाबारे कुनै औपचारिक जानकारी दिइएको थिएन ।
प्रतिक्रिया दिनुहोस्