३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


‘नेपालमा लगानीको वातावरण बन्दैछ’


0
Shares

काठमाडौं, जेठ ३० । पछिल्लो समय नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै छिमेकीसहित अन्य लगानीकर्तालाई स्वागत गर्न नेपाल आतुर रहेको सरोकारवालाहरुले बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीमा नेपाल–भारत आर्थिक सम्बन्ध विषयमा नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनसहित भारतको पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्टस्ट्रीसँग गरेको कार्यक्रममा लगानीका लागि लगानीमैत्री ऐन–नियमसमेत बन्दै गएको पनि उनीहरुको भनाइ छ ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले राजनीतिक स्थिरतासँगै लगानीको वातावरण बन्दै गएको बताए ।

नयाँ सरकार गठनसँगै छिमेकी देशबाट ठूलो लगानीको अपेक्षा गरिरहेको भन्दै उनले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन–नियममासमेत सुधार हुँदै आएको बताए ।

उनले भारतको ‘क्रस बोर्डर’ ट्रान्समिसनसम्बन्धी निर्देशिकाका कारण माथिल्लो कर्णाली आयोजनाको ‘फाइनान्सिएल क्लोजर’ हुन नसकेको भन्दै पूर्वराजदूतको ध्यानाकर्षण गराए ।

यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रमा नेपालले ठूलो लगानी खोजिरहेको भन्दै भारतीय लगानीकर्ताका लागि उपयुक्त गन्तव्य रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जलविद्युत्, कृषि, पर्यटन क्षेत्रमा पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्टस्ट्रीसँग सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको जानकारी गराए ।

पीएचडी चेम्बरले नेपालका लागि भारतीय पूर्वराजदूत केभी राजनलगायतको सहकार्यमा इन्डिया–नेपाल सेन्टर स्थापनाको पहल गरिरहेको छ ।

त्यसका लागि उनीहरुको एक टोलीले नेपाली निजी क्षेत्रसँग छलफल गरिरहेको छ ।