६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


तीज मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह


0
Shares

काठमाडौं, साउन २७ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ ।

कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र स्थानीय प्रहरीको समन्वयमा तीजलाई मौलिक संस्कृतिकारुपमा मनाउन अनुरोध गरिएको जानकारी गराए ।

काठमाडौंका स्थानीय तहका जनप्रतिनिधिले पछिल्लोपटक तीज मनाउनेक्रममा मौलिक संस्कृति मेटिँदै गएको भन्दै प्रशासनमा आएपछि भड्किलो नभइ शान्तिपूर्ण तरिकाले तीज मनाउन आग्रह गरिएको उनले बताए ।

‘तीज चाडको आफ्नै मौलिक विशिष्टता एवं सामाजिक परम्परा कायम रहेको छ । माइती र चेलीलाईमात्र नभएर सिंगो समाजलाई जीवन्त, मौलिक र पारस्पारिक सम्बन्धलाई यसले जोडेको देखिन्छ’–प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

सूचनामा पछिल्लो समयमा तीज आउनुभन्दा धेरैपहिलेदेखि यस पर्वका नाममा बढ्दो तडक–भडक, गहगरहना र लुगाको प्रदर्शन, आडम्बर, उत्ताउलोपन, फजुल खर्च, ध्वनी प्रदूषण र चोरी हुनेजस्ता विकृतिजन्य क्रियाकलापले तीज पर्वको मौलिकतामाथि आँच पुगको उल्लेख छ ।

प्रशासनले छुट्टै सामाजिक र मौलिक विशिष्टता कायम रहेको तीजको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व कायम राख्नसमेत अनुरोध गरेको छ ।

केही वर्षयता काठमाडौंमा तीज मनाउनेक्रममा मौलिक संस्कृति बिर्संदै पार्टी प्यालेस, रेस्टुरेन्टजस्ता ठाउँमा भड्किलो खर्च गर्दै मनाउन थालिएको छ ।

हिन्दु महिलाले सदियौंदेखि मनाउँदै आएको हरितालिका तीज यस वर्ष आगामी भदौ १६ गते परेको छ । रासस