
-केके मानन्धर/ईमेज
काठमाडौं । सवारी दुर्घटनामा देब्रे खुट्टा गुमाएका दाङ तुलसीपुर उपमहानगरपालिका– १ पवननगरका गंगाराम सापकोटालाई आर्थिक अभावले कृत्रिम खुट्टा फेर्नमा समस्या भएको छ ।
४१ बर्षीय सापकोटाको ८ वर्ष अघि सवारी दुर्घटनामा देब्रे खुट्टा गुमेको थियो । तत्कालीन अवस्थामा हारगुहार गरेको भरमा चिकित्सकले नक्कली खुट्टा त राखिदिए तर त्यहाँदेखि नै सापकोटालाई आर्थिक समस्याले गाँज्दै आएको छ ।
कृत्रिम खुट्टाको भरमा साधारण हिँडडुल गर्ने सापकोटा पछिल्लो समय भारतको चन्दिगढमा पाँच सदस्यीय परिवारको अभिभावक भएर बस्दै आएका छन् । शारिरीक रुपमा अपांग भएका उनलाई अहिले जीवन गुजारा गर्न समेत गाह्रो छ ।
‘म अहिले शारिरीक अपांग भएको र अशक्त भएकै आधारले मजदुरी गर्न सक्दिन । त्यसैले पनि एउटा निजी घरमा चौकीदारी गरेर परिवारको गुजारा गरिरहेको छु,’ सापकोटाको भनाई छ ।
मासिक १० हजार भारतीय रुपियाँको तलब बुझ्ने उनीसँग दुई छोरी, एक नाबालक छोरा तथा श्रीमती छन् । पाँच जनाको परिवारलाई सापकोटाको तलबले धान्न मुस्किल छ । त्यसमा पनि अहिले डेढ लाख मूल्य बराबरको कृत्रिम खुट्टा फेर्नु परेको भएर उहाँलाई राती निद्रा लाग्न छोडेको छ ।
चरम गरिबीसँग जुघ्दै आएका सापकोटालाई घुँडामुखि घाउ देखिएकोले चिकित्सकले कृत्रिम खुट्टा फेर्न सुझाएको छ । साधारण तलबले हातमुख सम्म जोड्न मुस्किल भएर उनले छोराछोरीलाई भारतकै सरकारी स्कूलमा पढाउँदै आएका छन् । एक्लैको तलबले खान समेत गाह्रो हुँदै आएकोमा अहिले नक्कली खुट्टा फेर्नुपर्ने भएर झन् समस्या देखिएको छ ।
खुट्टा फेर्न अहिले पनि भारतमा डेढ लाख भारतीय रुपैंयाँ खर्चिनु पर्ने हुन्छ । अस्सी हजार डिपोजिट गरेपछि मात्र नक्कली खुट्टाको लागि अर्डर गर्न सकिने भएर सापकोटाले यताउती हारगुहार माग्न थालेका छन् ।
सोही क्रममा चार दिनको बिदा मिलाएर केहि समय अघि सापकोटा तुलसीपुर उपमहानगरपालिका समेत पुगे । तर वडा नं १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले तुलसीपुरमा अपांगता केन्द्र नभएको भनेर फर्काइदिए ।
भण्डारीले दाङमा गएर अपांगता भत्ताको लागि पक्रिया थाल्न भनेका थिए । शारिरीक रुपमा अपांग भएका सापकोटा दाङको घोराही पुग्दा समेत आर्थिक सहयोगबाट वन्चित हुनुपरेको छ ।
तुलसीपुरले घोराही पठाउने र घोराहीबाट पुनः तुलसीपुर मै अपांगता परिचय पत्र बनाउन सकिने भनेपछि हैरान भएर सापकोटा भारतै फर्केका छन् ।
वडाध्यक्ष भण्डारीले सापकोटालाई आवश्यकता बमोजिम सहकार्य गर्न चुकेको स्वीकार गरे । कृत्रिम खुट्टा फेर्नुपर्ने बाध्यतामा रुमलिएका सापकोटाको आर्थिक अभाव तथा स्थानिय सरकारको असहयोगले मातृभूमिप्रतिको गुनासो बढेको देखिन्छ ।
साधारण रुपमा अपांग भत्ता तथा आर्थिक सहयोगको याचना गरेपनि कुनै पनि निकायले सहयोग नगरेकोप्रति उनको गुनासो छ ।
हुन त सापकोटाकी दिदी तथा भिनाजु अहिले पनि तुृलसीपुरमै बस्छन् । आर्थिक अवस्था कमजोर भएकाले उनीहरुले पनि सापकोटालाई कृत्रिम खुट्टा राख्नमा सहयोग गर्न सक्दैनन् ।
उनलाई सम्बन्धित दाताहरुमार्फत आफुलाई सहयोग गर्न अपील गरेका छन् । कोही कसैले सापकोटालाई सहयोग गर्न चाहेमा भारत चन्दिगढस्थित गंगाराम सापकोटाको भारतीय अन्तराष्ट्रिय बैंक अफ बरोदा खाता नं. १८१४०१०००२४७३७ मा नगद जम्मा गरिदिन तथा उनको भारतीय सम्पर्क नम्बर ७६९६५३८४१५ मा फोन गरेर प्रत्यक्ष रुपमा सहयोग गर्न अपील गरेका छन्
सापकोटा एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै शारिरीक रुपमा असक्षमलाई राज्यले पछाडी परेका नागरिकको रुपमा स्वीकार गर्दै आएको छ । २०६८ सालको जनगणनाको प्रतिवेदन अनुसार कुल नेपालको जनसंख्याको १.९४ प्रतिशत अपांगता भएका नागरिकहरु छन् ।
अपांगता भएका नागरिकको हक अधिकार संरक्षण र प्रवद्र्धन गर्ने हेतुले एशिया प्रशान्त क्षेत्रमै पहिलो पटक ०३९ सालमा अपांग संरक्षण तथा कल्याण ऐन ल्याइयो ।
तर वास्तविक रुपमा अपांग भएका नागरिकलाई हक अधिकार दिनमा सरकार चुकेको देखिन्छ । कम्तीमा पनि समतामूलक समाज निर्माण गर्न तथा समावेशी संविधानलाई व्यवहारमा लागु गर्न गंगाराम सापकोटा जस्ता शारिरीक रुपमा असक्षमलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।
आर्थिक अभावले गंगारामको कृत्रिम खुट्टा फेर्नमा समस्या
आर्थिक अभावले गंगारामको कृत्रिम खुट्टा फेर्नमा समस्या
Posted by ImageKhabar.com on Sunday, August 11, 2019
प्रतिक्रिया दिनुहोस्